मधेशसमाचार

बारामा मलखादको कालोबजारीबारे सांसद चन्दन सिंहको संसदमा आवाज, छुट्टै संयन्त्रबाट वितरण गर्न माग

कलैया, १५ साउन
बारा–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य चन्दन कुमार सिंहले बाराका केही स्थानीय जनप्रतिनिधि र कृषि सहकारी संस्थाबीचको मिलेमतोमा रासायनिक मलखादको कालोबजारी भइरहेको आरोप लगाउँदै प्रतिनिधिसभाको बैठकमै सरकारको ध्यानाकर्षण गराएका छन्।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले बाराका विभिन्न क्षेत्रमा किसानसँग प्रत्यक्ष भेटघाट तथा छलफलका क्रममा मलखाद वितरणमा व्यापक अनियमितता, पक्षपात र कालोबजारी भइरहेको गुनासो आफूले प्राप्त गरेको बताए। उनले किसानका लागि सहज रूपमा उपलब्ध हुनुपर्ने मलखाद केही व्यक्ति र संस्थाको स्वार्थका कारण वास्तविक किसानसम्म पुग्न नसकेको उल्लेख गरे।
सांसद सिंहले किसानको हित र कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले स्थापना गरिएका कृषि सहकारी संस्था आफ्नो मूल उद्देश्यबाट विचलित हुँदै गएको टिप्पणी गरे। “किसानको हितका लागि खोलिएका सहकारी आज सहकारी होइन, हाहाकारी बनेका छन्,” भन्दै उनले सहकारीमार्फत भइरहेको वितरण प्रणालीमाथि गम्भीर प्रश्न उठाए।
उनले हालको वितरण प्रणालीमा पारदर्शिता र जवाफदेहिताको अभाव रहेको उल्लेख गर्दै स्थानीय तह वा निजी सहकारीमार्फत मल वितरण गर्ने अभ्यास अन्त्य गर्न सरकारसँग माग गरे। यसको सट्टा निष्पक्ष, पारदर्शी र प्रभावकारी छुट्टै संयन्त्र गठन गरी वास्तविक किसानलाई सहज रूपमा मल उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो।
सांसद सिंहले मल वितरण प्रक्रियामा हुने अनियमितता रोक्न तत्काल छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा किसानले बाली लगाउने समयमा सहज रूपमा मल प्राप्त गर्ने वातावरण सुनिश्चित गर्न पनि सरकारसँग आग्रह गरे।
कृषि उत्पादनको आधार मानिने रासायनिक मलको अभाव तथा वितरणमा देखिएको समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्ने भन्दै उनले किसानको अधिकार सुनिश्चित गर्न प्रभावकारी नीति र कार्यान्वयन आवश्यक रहेको धारणा व्यक्त गरे। संसदमा उठेको यो विषयले बारा लगायत मधेशका जिल्लामा मल वितरण प्रणालीप्रति बढ्दो असन्तुष्टि पुनः सार्वजनिक रूपमा उजागर गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button