
रौतहट, १५ साउन
रौतहटको देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह कानुको पद रिक्त भएको छ। नेकपा (एमाले) परित्याग गरेको आधारमा निर्वाचन आयोग ले उनको निर्वाचित पद स्वतः रिक्त भएको निर्णय सार्वजनिक गरेको हो।
आयोगले शुक्रबार जारी गरेको सूचनामा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र नियमावली, २०७४ अनुसार दल त्याग गर्ने जनप्रतिनिधिको निर्वाचित पद स्वतः रिक्त हुने कानुनी व्यवस्था रहेको उल्लेख गरेको छ। एमालेको केन्द्रीय सचिवालयले प्रेमलाल साह कानुले पार्टीको विधानविपरीत गतिविधि गर्दै दल परित्याग गरेको निर्णय आयोगमा पठाएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनको पद रिक्त गरिएको जनाइएको छ।
यससँगै देवाही गोनाही नगरपालिका–५ का वडा अध्यक्ष रामप्रवेश प्रसाद कुर्मीको पद पनि एमाले परित्याग गरेको आधारमा रिक्त भएको आयोगले जनाएको छ।
आयोगले शुक्रबार देशभरका विभिन्न स्थानीय तहका छ जना जनप्रतिनिधिको पद रिक्त भएको सूचना सार्वजनिक गरेको छ, जसमा रौतहटका यी दुई जनप्रतिनिधि पनि समावेश छन्।
नगर प्रमुखको पद रिक्त भएसँगै अब प्रचलित कानुनअनुसार देवाही गोनाही नगरपालिकामा उपनिर्वाचनको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।



