
हिन्दु–मुस्लिम एकताको सन्देश दिन फेटा गाउँपालिकामा ‘यारी’ कार्यक्रम
बारा, १५ साउन
देशका विभिन्न स्थानमा पछिल्ला दिनमा भएका दुःखद घटनापछि सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी भाइचारालाई थप सुदृढ बनाउने उद्देश्यले बाराको फेटा गाउँपालिकामा हिन्दु–मुस्लिम एकताको सन्देश दिने विशेष कार्यक्रम आयोजना गरिएको छ।
शुक्रबार अर्थात् आज गाउँपालिकामा आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राकेश ओझा, लेखा अधिकृत मुकेश साह, प्रशासकीय अधिकृत सुनिल कुमार साह तथा अन्य कर्मचारीहरूको उपस्थितिमा गाउँपालिकाको न्यायिक समिति सचिवालयका कर्मचारी जफिर आलम र बतरा स्वास्थ्य चौकी प्रमुख बडेलाल साहबीच मित्रता (यारी) सम्बन्ध गाँसिएको हो।
कार्यक्रममार्फत हिन्दु–मुस्लिम समुदायबीचको आपसी विश्वास, सम्मान र सहकार्यलाई अझ बलियो बनाउँदै सामाजिक सद्भाव कायम राख्ने सन्देश दिइएको थियो। सहभागीहरूले धर्म, जात र समुदायभन्दा माथि उठेर राष्ट्रिय एकता, सहिष्णुता र भाइचाराको भावना प्रवर्द्धन गर्न सबैले आ–आफ्नो ठाउँबाट सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए।
देशका विभिन्न स्थानमा भएका दुःखद घटनाले सामाजिक सद्भावमा असर पर्न नदिन सबै नागरिक सचेत रहनुपर्ने, अफवाह र भड्काउ अभिव्यक्तिबाट टाढा रहँदै आपसी विश्वास र सहकार्यलाई प्राथमिकता दिनुपर्ने धारणा पनि कार्यक्रममा व्यक्त गरिएको थियो।
वर्तमान विशेष परिस्थितिलाई मध्यनजर गर्दै फेटा गाउँपालिकाले आयोजना गरेको यो कार्यक्रमलाई सामाजिक सद्भाव प्रवर्द्धन गर्ने सकारात्मक पहलका रूपमा प्रशंसा गरिएको छ। सहभागीहरूले यस्ता प्रतीकात्मक कार्यक्रमले विभिन्न धर्म र समुदायबीचको सम्बन्ध अझ मजबुत बनाउँदै शान्ति, सहअस्तित्व र राष्ट्रिय एकताको भावना सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।



