मधेशसमाचार

सद्भाव यात्रामा व्यापक सहभागिताका लागि जिल्ला प्रशासन बाराको अपिल

कलैया, १५ साउन

पछिल्ला दिनमा देशका विभिन्न जिल्लामा भएका घटनाक्रम तथा त्यसपछिको सामाजिक परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बाराले जिल्लामा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, मेलमिलाप र भाइचाराको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना हुन लागेको ‘सद्भाव यात्रा’ मा व्यापक सहभागिताका लागि सबै सरोकारवालासँग हार्दिक अपिल गरेको छ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र द्वारा जारी अपिलमा बारा जिल्लामा विभिन्न समुदायबीच आपसी विश्वास, सहिष्णुता र सामाजिक एकता कायम राख्न सद्भाव यात्रालाई सशक्त माध्यमका रूपमा अघि बढाइएको उल्लेख गरिएको छ। प्रशासनले यस यात्रालाई सफल बनाउन सबै धार्मिक संस्था, विभिन्न धर्म र संस्कृतिमा आस्था राख्ने धर्मावलम्बी, जिल्लास्थित राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधि, जनप्रतिनिधि, नागरिक समाज, समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मी, अधिकारकर्मी, गैरसरकारी संस्था, टोल विकास संस्था, सुरक्षा निकाय, सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीसहित आम नागरिकलाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।
प्रशासनका अनुसार सद्भाव यात्राले सामाजिक एकता, पारस्परिक सम्मान र धार्मिक सहिष्णुताको सन्देश प्रवाह गर्दै जिल्लामा शान्ति र सद्भाव कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ। साथै, सबै पक्षको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई अझ प्रभावकारी र सन्देशमूलक बनाउने अपेक्षा गरिएको छ।
जिल्ला प्रशासन कार्यालय बाराले जारी गरेको सूचनाअनुसार सद्भाव यात्रा २०८३ साउन १६ गते शनिबार अर्थात् भोलि बिहान ८:०० बजे जिल्ला प्रशासन कार्यालय, बाराबाट सुरु हुनेछ।
प्रशासनले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्तिपूर्ण सहअस्तित्वलाई थप मजबुत बनाउन आयोजना गरिएको यस कार्यक्रममा सबै समुदायको सक्रिय उपस्थितिका लागि पुनः हार्दिक अनुरोध गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button