
सत्येन्द्र प्रताप सिंह
रौतहट ,१६ साउन
तराई–मधेशका विभिन्न जिल्लाहरूमा हालै विकसित अवाञ्छित घटना र त्यसले सिर्जना गरेको संवेदनशील परिस्थितिलाई ध्यानमा राख्दै रौतहटका क्रियाशील राजनीतिक दल, प्रशासन तथा नागरिक समाजका प्रतिनिधिहरूले जिल्लाको धार्मिक, सामाजिक र सांस्कृतिक सद्भाव कायम राख्न एकबद्ध हुने साझा प्रतिबद्धता व्यक्त गरेका छन्।
जिल्ला प्रशासन कार्यालय रौतहटको आयोजनामा जिल्ला समन्वय समितिको सभाकक्षमा सम्पन्न सर्वदलीय तथा सर्वपक्षीय बैठकले जिल्लालाई धार्मिक तथा सामाजिक सहिष्णुताको नमूना जिल्ला बनाउने संकल्प गरेको छ।
बैठकमा हालै सुनसरीमा बोलबमका काँवरियाहरूमाथि भएको दुखद् आक्रमणप्रति गम्भीर दुख व्यक्त गर्दै घटनामा ज्यान गुमाएका मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरियो।
पछिल्लो समय सिरहा, सुनसरी, धनुषा लगायतका जिल्लाहरूमा घटेका घटना र त्यसपछि मधेशमा सिर्जना भएको संवेदनशील वातावरणबारे बैठकमा विस्तृत छलफल भएको थियो। आन्दोलनका नाममा निहत्था जनतामाथि राज्य पक्षबाट हुन सक्ने अधिक बल प्रयोग र हिंसा रोक्न तथा शान्तिपूर्ण वातावरण कायम गर्न सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिइएको छ।
बैठकले छिमेकी जिल्लाहरूमा भएका घटनाको नकारात्मक प्रभाव रौतहटमा पर्न नदिने र कुनै पनि किसिमको धार्मिक वा साम्प्रदायिक विद्वेष, उत्तेजना र उच्छृङ्खल गतिविधिलाई प्रश्रय नदिने स्पष्ट अडान लिएको छ।
बैठकबाट पारित प्रमुख निर्णयहरू: रौतहटमा परापूर्वकालदेखि कायम रहँदै आएको भाइचारा, धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई अझ सुदृढ बनाउँदै लैजाने,
सामाजिक सञ्जाल वा अन्य माध्यमबाट फैलाइने झुठा, भ्रामक तथा साम्प्रदायिक भावना भड्काउने समाचार र अफवाहहरूको सम्प्रेषण नगर्न र त्यस्ता अफवाहको पछि नलाग्न सर्वसाधारणमा अपिल गर्ने,
कसैको पनि धार्मिक आस्था र विश्वाससँग खेलवाड गर्न नदिने र धार्मिक सहिष्णुता कायम राख्ने, जिल्लामा शान्ति, सुरक्षा र अमनचयन कायम राख्न जनप्रतिनिधि, स्थानीय तह, धार्मिक अगुवा, समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मी, उद्योगी-व्यवसायी तथा नागरिक समाजलाई आ-आफ्नो क्षेत्रबाट सक्रिय र जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गर्ने।
प्रशासन र राजनीतिक दलहरूको प्रतिबद्धता
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जिल्लालाई धार्मिक तथा सांस्कृतिक सहिष्णुताको नमुना बनाउन सबै सरोकारवाला पक्षहरू संयुक्त रूपमा पहल गर्न सहमत भएको जानकारी दिए । उनले जिल्लामा कुनै पनि प्रकारको अप्रिय घटना हुन नदिन प्रशासन सतर्क रहेको र स्थानीय नागरिक समाज तथा राजनीतिक दलहरूको सहयोग प्रशंसनीय रहेको बताए ।
त्यसैगरी बैठकमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले आफ्ना कार्यकर्ता र आम नागरिकलाई धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी एकता कायम राख्न प्रेरित गर्ने प्रतिबद्धता जनाए ।
उक्त सर्वपक्षीय बैठकमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, धार्मिक अगुवाहरू, सञ्चारकर्मीहरू र नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।



