मधेशसमाचार

सम्पत्ति विवरण नबुझाउने ११ शिक्षकलाई शिक्षा विकास तथा समन्वय इकाइ बाराको अन्तिम ताकेता

कलैया, १६ साउन
शिक्षा विकास तथा समन्वय इकाइ, बारा–कलैयाले आर्थिक वर्ष २०८१/८२ को सम्पत्ति विवरण तोकिएको समयभित्र पेश नगर्ने ११ जना शिक्षकलाई तत्काल सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ। जिल्ला प्रशासन कार्यालय बाराको पत्र तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनका आधारमा इकाइले सम्बन्धित शिक्षकहरूको नामावली सार्वजनिक गर्दै आवश्यक प्रक्रिया पूरा गर्न ताकेता गरेको हो।
निमित्त इकाइ प्रमुख सन्तोष कुमार शर्मा द्वारा जारी पत्रमा सार्वजनिक पद धारण गरेका कर्मचारी तथा शिक्षकले प्रत्येक आर्थिक वर्षको सम्पत्ति विवरण अनिवार्य रूपमा पेश गर्नुपर्ने कानुनी व्यवस्था रहेको उल्लेख गरिएको छ। तर नामावलीमा समावेश शिक्षकहरूले निर्धारित समयभित्र सम्पत्ति विवरण नबुझाएको जानकारी प्राप्त भएपछि पुनः निर्देशन जारी गरिएको जनाइएको छ।
पत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयबाट प्राप्त निर्देशनअनुसार सम्बन्धित शिक्षकहरूले रु. १० हजार राजस्व सरकारको राजस्व खातामा दाखिला गरी सोको भौचर संलग्न गर्दै आर्थिक वर्ष २०८१/८२ को सम्पत्ति विवरण राष्ट्रिय किताबखाना (शिक्षक), छाउनी, काठमाडौंमा बुझाउनुपर्ने उल्लेख छ। साथै सम्पत्ति विवरण बुझाएको प्रमाणसहितको जानकारी शिक्षा विकास तथा समन्वय इकाइ, बारामा समेत पठाउन भनिएको छ।
इकाइले सार्वजनिक गरेको नामावलीअनुसार सम्पत्ति विवरण नबुझाउने शिक्षकहरूमा मधु कुमारी, हेम नारायण सिंह, जितेन्द्र प्रसाद जयसवाल, प्रविन कुमार काफ्ले, सुबास कुमार ठाकुर, अजय कुमार महतो, अनिल कुमार यादव, पण्डित त्रिपाठी, मीना कुमारी लामा, जादोलाल राम र विकास कुमार गुरागाईं रहेका छन्।
पत्रअनुसार मधु कुमारी हाल नेपाल राष्ट्रिय आधारभूत विद्यालय, छोटकी फुलवरिया, हेम नारायण सिंह नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, मझरिया, जितेन्द्र प्रसाद जयसवाल ज्ञानज्योति आधारभूत विद्यालय, प्रसौनी, प्रविन कुमार काफ्ले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, डुमरवाना, सुबास कुमार ठाकुर दुलारी निम्न माध्यमिक विद्यालय, बसडिलवा, अजय कुमार महतो नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रहरियाडिह , अनिल कुमार यादव नेपाल राष्ट्रिय जन जागृति प्राथमिक विद्यालय, नयकाटोला, पण्डित त्रिपाठी नेपाल राष्ट्रिय आधारभूत विद्यालय, बैरिया भट्टीटोल, मीना कुमारी लामा अहिंसावादी साङ्गे छयोईलिङ्ग आ.बौद्ध बि., अमलेखगञ्ज, जादोलाल राम लोक सामुदायिक आधारभूत विद्यालय, कंचनपुर तथा विकास कुमार गुरागाईं सरस्वती नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, इनर्वासिरा, बारामा कार्यरत छन्।
शिक्षा विकास तथा समन्वय इकाइले सम्बन्धित शिक्षकहरूलाई कानुनबमोजिम आवश्यक प्रक्रिया पूरा गरी यथाशीघ्र सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ। साथै उक्त पत्रको बोधार्थ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल, काठमाडौं तथा जिल्ला प्रशासन कार्यालय, बारा लाई समेत पठाइएको छ।
सार्वजनिक पदमा कार्यरत कर्मचारीले प्रत्येक वर्ष आफ्नो सम्पत्ति विवरण पेश गर्नु सुशासन, पारदर्शिता र जवाफदेहितासँग जोडिएको कानुनी दायित्व भएकाले समयमै विवरण नबुझाउने कर्मचारीलाई सम्बन्धित निकायले कारबाही प्रक्रिया अघि बढाउन सक्ने व्यवस्था रहेको छ। शिक्षा विकास तथा समन्वय इकाइ बाराले पनि सम्बन्धित शिक्षकहरूलाई ढिलाइ नगरी कानुनी दायित्व पूरा गर्न पुनः आग्रह गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button