
कलैया, १६ साउन
बारा जिल्लामा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव तथा आपसी एकता कायम राख्ने उद्देश्यले शनिबार कलैयामा भव्य सद्भाव र्याली सम्पन्न भएको छ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको नेतृत्वमा आयोजित र्यालीमा बारा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य गणेश धिताल तथा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य चन्दनकुमार सिंहको विशेष सहभागिता रहेको थियो। र्यालीमा विभिन्न हिन्दु तथा मुस्लिम धार्मिक संगठन, सामाजिक अगुवा, जनप्रतिनिधि, सुरक्षा निकाय, नागरिक समाज तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
जिल्ला प्रशासन कार्यालय बाराबाट सुरु भएको र्याली कलैया बजारको मुख्य सडक परिक्रमा गर्दै भरतचोकमा पुगेर समापन गरिएको थियो। र्यालीभर सहभागीहरूले ‘हिन्दु–मुस्लिम भाइ–भाइ’, ‘आपसी सद्भाव कायम गरौं’, ‘सामाजिक एकता हाम्रो पहिचान’ लगायतका नाराबाजी गर्दै शान्ति, सहिष्णुता र राष्ट्रिय एकताको सन्देश दिएका थिए।
कार्यक्रममा जिल्ला समन्वय समिति बाराका प्रमुख नागेन्द्र साह, कलैया उपमहानगरपालिकाका नगरप्रमुख विनोद साह, पचरौता नगरपालिकाका नगरप्रमुख जलन्धर सिंह जयसवार, परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षेत्री प्रसाद कुर्मी, जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख नरेन्द्र कुँवर लगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी विभिन्न मठ–मन्दिरका पण्डित–पुरोहित, मस्जिदका मौलवी, विभिन्न सञ्चारमाध्यमका पत्रकार, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सुरक्षा निकायका प्रतिनिधिहरू पनि र्यालीमा सहभागी भएका थिए।
कार्यक्रममा वक्ताहरूले कुनै पनि अफवाह वा उक्साहटमा नलागी सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र पारस्परिक सम्मानलाई थप मजबुत बनाउन सबै समुदायले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए। बारा बहुजातीय, बहुभाषिक तथा बहुधार्मिक जिल्ला भएकाले यहाँको सामाजिक एकता कायम राख्नु सम्पूर्ण नागरिकको साझा दायित्व भएको उनीहरूको भनाइ थियो।
र्याली शान्तिपूर्ण, उत्साहजनक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सहभागीहरूले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै हिन्दु–मुस्लिम समुदायबीचको भाइचारा, विश्वास र एकतालाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याएका थिए।



