
वीरगंज, १६ साउन
पर्साको वीरगञ्ज महानगरपालिका–२ स्थित ईदगाह चौकमा व्यक्तिगत विवादका क्रममा एक युवकलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार शुक्रबार बेलुका करिब :३५ बजे वीरगञ्ज–२ ईदगाह चौकमा भएको घटनामा वीरगञ्ज–१६ निवासी १८ वर्षीय समीर अन्सारीले सोही स्थानका १८ वर्षीय रञ्जित यादवमाथि कुटपिट गरेका थिए। कुटपिटबाट यादवको ओठ र नाकमा चोट लागेको तथा उनलाई तत्काल उपचारका लागि प्रभु अस्पताल लगिएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ। घटनाको वास्तविक कारण र अन्य पक्षबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
यसैबीच, घटनालाई लिएर सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा धार्मिक वा साम्प्रदायिक कोणबाट विभिन्न भ्रामक समाचार तथा टिप्पणी सार्वजनिक भइरहेको भन्दै प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्रहरीले घटनाको निष्पक्ष अनुसन्धान भइरहेको उल्लेख गर्दै सत्यतथ्य नबुझी धार्मिक सद्भावमा असर पर्ने किसिमका समाचार वा सामग्री प्रचार–प्रसार नगर्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, कानुनअनुसार दोषीमाथि आवश्यक कारबाही हुने भएकाले शान्ति, सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै पक्षसँग सहयोगको अपिल गरिएको छ।



