
उपेन्द्र पासवान
बारा , १६ साउन
समाज परिवर्तन, सुशासन र सामाजिक उत्तरदायित्वका विषयमा केन्द्रित मिशन २०८४ ले समाजमा रहेका विभिन्न प्रकारका बौद्धिक प्रवृत्तिबारे बहस आवश्यक रहेको जनाएको छ।
मिशनका अनुसार वास्तविक बुद्धिजीवी भनेका विवेक, नैतिकता र सत्यको पक्षमा उभिने व्यक्ति हुन्। उनीहरूले समाजमा हुने अन्याय, अत्याचार, भ्रष्टाचार तथा विभेदका विरुद्ध आवाज उठाउँदै सकारात्मक परिवर्तनका लागि निरन्तर योगदान पुर्याउँछन्। यस्ता व्यक्तिहरूले सही कार्य गर्नेहरूलाई प्रोत्साहन र सहयोग गर्दै समाजलाई सही दिशा दिन महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन्।
त्यसैगरी, आफ्नो ज्ञान र क्षमता व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्ने, सामाजिक रूपान्तरणमा अवरोध सिर्जना गर्ने तथा सत्ता वा सामन्ती सोचको पक्षपोषण गर्ने प्रवृत्तिलाई आलोचनात्मक रूपमा हेरिनुपर्ने मिशनको धारणा छ। यस्ता व्यक्तिहरूले सही–गलतभन्दा पनि व्यक्तिगत लाभलाई प्राथमिकता दिने गरेको उल्लेख गरिएको छ।
यस्तै, अरूको विचार र स्वार्थको प्रभावमा मात्र चल्ने, स्वतन्त्र विवेक प्रयोग नगर्ने तथा समाजमा वंशवाद, जातिवाद र सामन्ती सोचलाई बढावा दिने प्रवृत्तिलाई ‘परबुद्धिजीवी’ का रूपमा व्याख्या गरिएको छ। यस्ता व्यक्तिहरूले आफ्नै विचारभन्दा अरूको प्रभावमा रहेर समाजलाई गलत दिशातर्फ लैजान सक्ने चेतावनी पनि दिइएको छ।
मिशन २०८४ ले विशेष गरी नवयुवा पुस्तालाई विवेक, नैतिकता र कर्मका आधारमा समाजसेवामा सक्रिय हुन आह्वान गरेको छ। आर्थिक लाभभन्दा सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै नयाँ पुस्ताले समाजलाई सकारात्मक दिशा दिन सक्ने विश्वास व्यक्त गरिएको छ।
अन्त्यमा, समाज सबैको साझा सम्पत्ति भएकाले यसको विकास, सुशासन र समृद्धिका लागि सबै नागरिकको समान सहभागिता आवश्यक रहेको उल्लेख गर्दै भावी पुस्ताका लागि अवसरयुक्त, न्यायपूर्ण र समावेशी समाज निर्माणमा सबैलाई हातेमालो गर्न मिशन २०८४ ले अपिल गरेको छ।देवताल बैचारिक मन्चले जानकारी गराएको छ।



