मधेशसमाचार

गृहमन्त्रीको निर्देशनपछि एआईजी ठाडा मगरद्वारा मधेसमा सुरक्षा सक्रियता, मटिहानीको सद्भाव जोगाउन सबैसँग आग्रह

जनकपुर, १७ साउन

सुनसरीमा हालै भएको घटनापछि देशको शान्ति–सुरक्षालाई थप सुदृढ बनाउन सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) गणेशबहादुर ठाडा मगरले मधेस प्रदेशका विभिन्न जिल्लाको सुरक्षा अवस्थाबारे स्थलगत अनुगमन गर्नुभएको छ।
गृहमन्त्रीको निर्देशनअनुसार सञ्चालन गरिएको अनुगमनका क्रममा एआईजी ठाडा मगरले बर्दिबास, जनकपुर, मटिहानी र सम्सी क्षेत्रको सुरक्षा व्यवस्थाको समीक्षा गर्नुभयो। उहाँले जिल्ला सुरक्षा समिति, प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरीका जिम्मेवार अधिकारी तथा सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीसँग छलफल गर्दै सीमा सुरक्षा, सूचना आदान–प्रदान, अन्तरनिकाय समन्वय र सम्भावित सुरक्षा चुनौतीबारे जानकारी लिनुभएको थियो।
अनुगमनका क्रममा उहाँले शान्ति–सुरक्षामा कुनै कमजोरी हुन नदिन उच्च सतर्कता अपनाउन, संवेदनशील गतिविधिमाथि निरन्तर निगरानी राख्न तथा नागरिकको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो।
यसैबीच महोत्तरीको गौशालामा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रमोद कुमार महतो, स्थानीय जनप्रतिनिधि, धार्मिक अगुवा, समाजसेवी, बुद्धिजीवी तथा विभिन्न समुदायका प्रतिनिधिहरूसँग पनि उहाँले छलफल गर्नुभयो।
कार्यक्रममा एआईजी ठाडा मगरले ऐतिहासिक तथा धार्मिक नगरी मटिहानीलाई शिक्षा, संस्कृत, धार्मिक सहिष्णुता र सामाजिक सद्भावको प्रतीकका रूपमा उल्लेख गर्दै यसको गौरव जोगाउनु सबैको साझा दायित्व भएको बताउनुभयो। उहाँले अफवाह, भ्रामक सूचना वा सामाजिक सद्भाव बिथोल्ने कुनै पनि गतिविधिको प्रभावमा नपर्न नागरिकलाई आग्रह गर्नुभयो।
उहाँले महोत्तरीमा पुस्तौंदेखि कायम सामाजिक एकता, आपसी विश्वास र भाइचाराको संस्कृतिलाई अझ सुदृढ बनाउँदै त्यसको सकारात्मक सन्देश सम्पूर्ण मधेस र देशभर फैलाउन स्थानीय समुदाय, जनप्रतिनिधि, नागरिक समाज तथा सुरक्षा निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
एआईजी ठाडा मगरले कानुनको शासन, नागरिक सुरक्षा र सामाजिक सद्भावको संरक्षणका लागि सशस्त्र प्रहरी बल नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै शान्तिपूर्ण र सुरक्षित समाज निर्माणमा सबै पक्षको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button