मधेशसमाचार

पचरौता नगरपालिकामा पत्रिका बिल विवाद चर्कियो, शिक्षा सहसंयोजकको सार्वजनिक टिप्पणीपछि प्रकाशकको कडा प्रतिवाद

बारा, १८ साउन

पचरौता नगरपालिकासँग सम्बन्धित सूचना प्रकाशनको भुक्तानी विवादले नयाँ मोड लिएको छ। नगरपालिकाको बेथिति सम्बन्धी समाचार प्रकाशन भएपछि सामाजिक सञ्जालमा शिक्षा सहसंयोजकले आफूलाई निर्दोष देखाउने प्रयासस्वरूप पत्रिकाको बिल तथा भुक्तानी मागसम्बन्धी कुराकानी सार्वजनिक गरेपछि विवाद झन् चर्किएको हो।
उक्त सार्वजनिक टिप्पणीको जवाफ दिँदै साझेदारी दैनिकका प्रकाशक/सम्पादकले नगरपालिकाले प्रकाशन गराएको सूचनासहितको पत्रिका नै सार्वजनिक गर्दै कडा प्रतिक्रिया जनाएका छन्। उनले २०८२ असोज २८ गते करारमा शिक्षक आवश्यकता सम्बन्धी सूचना तथा २०८२ असोज ३० गते नगर अनुदानबाट स्वयंसेवक शिक्षक मागसम्बन्धी सूचना साझेदारी दैनिकमै प्रकाशित भएको उल्लेख गरेका छन्।
प्रकाशकको दाबीअनुसार सूचना प्रकाशन गर्दा पत्रिकाले ४० प्रतिशतसम्म छुट दिएको, २०८२ मंसिर ७ गते वैधानिक बिल जारी गरिसकेको तथा लामो समय बितिसक्दा पनि भुक्तानी नभएको आरोप लगाइएको छ। साथै, भुक्तानी प्रक्रियामा ५० प्रतिशत कमिसन मागिएको भन्ने गम्भीर आरोपसमेत सार्वजनिक गरिएको छ।
उनले सार्वजनिक रूपमा लेखेका छन् कि यदि सूचना प्रकाशन गराउने, कर्मचारी नियुक्ति गर्ने तर वैधानिक बिलको भुक्तानी नगर्ने र भुक्तानीका क्रममा कमिसन मागिएको आरोप सत्य हो भने यसले स्थानीय सरकारको पारदर्शिता, सुशासन र जनविश्वासमाथि गम्भीर प्रश्न उठाउनेछ।
यस विषयमा सत्यतथ्य छानबिन गरी सम्बन्धित निकायले आवश्यक अनुसन्धान गर्नुपर्ने माग समेत उठाइएको छ। यद्यपि, कमिसन मागिएको आरोप तथा भुक्तानी रोकिएको विषयमा पचरौता नगरपालिकाको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।
सार्वजनिक निकायबाट सूचना प्रकाशन गराउने तर भुक्तानीमा ढिलाइ वा अनियमितता भएको आरोपले स्थानीय तहको वित्तीय अनुशासन र जवाफदेहितामाथि प्रश्न उठाएको भन्दै सरोकारवालाले निष्पक्ष छानबिनको आवश्यकता औंल्याएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button