मधेशसमाचार

सार्वजनिक सूचना जारी गर्दै सांसद चन्दन कुमार सिंह, योग्य युवालाई अवसर दिने पहलको व्यापक प्रशंसा

कलैया,  २१ साउन

बारा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य चन्दन कुमार सिंह ले पहिलो पटक आफ्नो संसदीय सचिवालयका लागि स्वकीय सचिव (Personal Secretary) पदमा खुला प्रतिस्पर्धामार्फत आवेदन माग गर्दै सार्वजनिक सूचना जारी गरेका छन्।
सांसद सिंहले जारी गरेको सूचनाअनुसार योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरिएको छ। शैक्षिक योग्यता, कार्यअनुभव, भाषा दक्षता, कम्प्युटर सीप तथा जनसम्पर्क क्षमता लगायतका स्पष्ट मापदण्ड तोकिएको छ। साथै योग्य उम्मेदवारलाई मात्र अन्तर्वार्ताका लागि बोलाइने व्यवस्था गरिएको उल्लेख छ।
यस कदमलाई बारा जिल्लामा पारदर्शिता, प्रतिस्पर्धा र योग्यताका आधारमा जनशक्ति छनोट गर्ने सकारात्मक अभ्यास का रूपमा हेरिएको छ। विगतमा यस्ता पदहरू प्रायः सार्वजनिक सूचना बिना व्यक्तिगत सिफारिस वा निकटताका आधारमा नियुक्त हुने गरेको आरोप लाग्दै आएको अवस्थामा सांसद सिंहले खुला आवेदन आह्वान गर्नु सुशासनतर्फको महत्वपूर्ण पहल मानिएको छ।
स्थानीय बुद्धिजीवी, युवा तथा सामाजिक अगुवाहरूले सार्वजनिक सूचना जारी गरी सबै योग्य युवालाई समान अवसर प्रदान गर्ने निर्णयको स्वागत गरेका छन्। उनीहरूका अनुसार यसले सरकारी तथा राजनीतिक नियुक्तिमा योग्यता, पारदर्शिता र उत्तरदायित्व को संस्कृति विकास गर्न सहयोग पुग्नेछ।
सूचनामा स्नातक तह उत्तीर्ण, सचिवालयमा अनुभव, नेपाली र अंग्रेजी भाषामा दक्षता, एमएस अफिस तथा सामाजिक सञ्जाल सञ्चालनको ज्ञान भएका उम्मेदवारलाई प्राथमिकता दिइने उल्लेख छ। नियुक्त व्यक्तिले सांसदको दैनिक कार्यतालिका व्यवस्थापन, निर्वाचन क्षेत्रका गुनासा तथा मागहरूको समन्वय, सञ्चार माध्यमसँग सम्पर्क तथा संसदीय सचिवालय सञ्चालनमा सहयोग गर्ने जिम्मेवारी सम्हाल्नेछन्।
राजनीतिक वृत्तमा सांसद सिंहको यो पहललाई खुला प्रतिस्पर्धा र सुशासनको सन्देश दिने उदाहरणीय कदम का रूपमा चर्चा गरिएको छ। योग्य र सक्षम जनशक्ति छनोटमार्फत संसदीय सचिवालयलाई अझ प्रभावकारी बनाउने उद्देश्यले सार्वजनिक सूचना जारी गरिएको विश्वास व्यक्त गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button