किसानको आक्रोशः कृषि ट्रान्सफर्मर नपाउँदा ताल्चा
शु. आ. सम्बाददाता
रौतहट , ०७ साउन
रौतहटको यमुनामाई गाउँपालिका कार्यालयमा सोमबार किसानहरूले आक्रोशित हुँदै ताल्चा हानेका छन्। करिब एक घन्टासम्म गाउँपालिकाको मुख्य प्रवेशद्वार बन्द गरी नारावाजी समेत गरेका छन् ।
चार वर्षअघि यमुनामाई ४ स्थित सरुअठा गाउँमा किसानलाई सुविधा दिन कृषि ट्रान्सफर्मर जडान गरिने प्रतिवद्धता गरिएको थियो। तर, अहिलेसम्म ट्रान्सफर्मर नआउँदा सिंचाइको समस्या तीव्र बनेको किसानहरूको गुनासो छ। वर्षेनी रौतहट तथा मधेस प्रदेशमा पर्याप्त वर्षा नहुँदा सिँचाइको भरपर्दो विकल्पको रुपमा ट्रान्सफर्मर आवश्यक रहेको किसानहरू बताउँछन्।
“खेत सुक्खा छन्, मल छ तर पानी छैन, हामीलाई बोलाइएको सपना देखाएर अलपत्र पारिएको छ,” एक स्थानीय किसानले बताए।
ताल्चा हानिएको सूचना पाएलगत्तै गाउँपालिकाका अध्यक्ष,मोहम्मद साउद जनप्रतिनिधि वडा नं १ का अध्यक्ष तथा गाउँपालिका प्रवक्ता नन्दलाल यादव र स्थानीय प्रहरी बमनहरका टोली घटनास्थलमा पुगेका थिए। तत्पश्चात किसानसँग आपसी छलफल गर्दै एक घण्टा भित्रै ताल्चा खोलेर कार्यालयको कामकाज पुनःसंञ्चालनमा ल्याइएको थियो।
गाउँपालिकाका अध्यक्ष तथा नि प्रसाशकिय अधिकृत रामश्रेष्ट यादवले बैठकपछि पत्रकारहरूलाई जानकारी दिंदै भने, “बुधबार बिहान १० बजे नेपाल विद्युत प्राधिकरण गौर कार्यालयमा गई ट्रान्सफर्मर सम्बन्धी समस्याको समाधानका लागि पहल गरिनेछ बताए । किसानको पीडा गम्भीर हो, अब हामी टार्न होइन समाधानतर्फ लाग्छौं।”
स्थानीय किसानहरूले भने आफूहरू अब पनि आश्वासनमा मात्र सीमित नगरिएको हेर्न चाहेको बताए।