
संजय तिवारी
बारा, २४ साउन
बारा जिल्लाको सदरमुकाम कलैयासहित मधेशका बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढेपछि मध्यमवर्गीय परिवारको भान्साको बजेट असन्तुलित बनेको छ। आम्दानीमा उल्लेख्य वृद्धि नभए पनि चामलदेखि तरकारी र तेलसम्मको मूल्य बढेपछि परिवारको मासिक खर्च धान्न कठिन भएको उपभोक्ताहरू बताउँछन्।
कलैयामा मध्यमवर्गीय परिवारले प्रयोग गर्ने कतर्नी चामल प्रतिबोरा २ हजारबाट बढेर २ हजार ६ सय रुपैयाँ पुगेको छ। कायनात सोनम चामल २ हजार ४ सयबाट ३ हजार १ सय रुपैयाँ पुगेको उपभोक्ताको भनाइ छ।
त्यस्तै, चिनी ९० बाट १२० रुपैयाँ प्रतिकिलो, काउली ८० बाट १५० रुपैयाँ, हरियो खुर्सानी १०० बाट २५० रुपैयाँ, आलु १२० बाट २०० रुपैयाँ पुगेको छ। ५ किलो प्याज २०० बाट ३०० रुपैयाँ तथा तोरीको तेल २८० बाट ३३० रुपैयाँ पुगेको छ।
करिब १५ दिनको अवधिमै काउली र खुर्सानीजस्ता तरकारीको मूल्यमा देखिएको वृद्धिले बजार अनुगमनको प्रभावकारितामाथि समेत प्रश्न उठाएको छ।
यता, सरकारले तोकेको मूल्यमा ग्यास बिक्री हुनुपर्ने भए पनि एलपी ग्यास सहज रूपमा उपलब्ध नहुँदा उपभोक्ता डिपोमा लाइन बस्न बाध्य भएका छन।
उपभोक्ताहरूले मूल्यवृद्धिको कारण सार्वजनिक गर्न, बजार अनुगमन प्रभावकारी बनाउन, कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गर्न तथा अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन सरकारसँग माग गरेका छन्।
‘आम्दानी उही छ, तर हरेक दिन खर्च बढिरहेको छ,’ कलैयाका एक उपभोक्ताको गुनासो छ, ‘अब मध्यमवर्गीय परिवारले घर चलाउनै कठिन हुन थालेको छ।’
महँगी नियन्त्रणमा प्रभावकारी कदम नचालिए यसको सबैभन्दा ठूलो भार सीमित आम्दानी भएका गरिब तथा मध्यमवर्गीय परिवारले नै बोक्नुपर्ने देखिन्छ।



