मधेशसमाचार

मौलापुरमा लालबकैया नदीद्वारा बाँध कटान दर्जनौँ बस्ती उच्च जोखिममा

सत्येन्द्र प्रताप सिंह

रौतहट, २६

जिल्लाको मौलापुर नगरपालिका अन्तर्गत मर्यादपुर क्षेत्रमा बग्ने लालबकैया नदीले तटीय बाँध तीव्र रूपमा कटान गर्न थालेपछि आसपासका दर्जनौँ तटीय बस्तीहरू बाढीको उच्च जोखिममा परेका छन्। अविरल वर्षाका कारण नदीमा जलस्तर ह्वात्तै बढेसँगै आएको तीव्र बहावले सुरक्षा बाँधको विभिन्न भाग पखाल्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्।
​नदीको निरन्तर कटानका कारण मर्यादपुर तथा त्यस आसपासका तटीय गाउँहरूमा जुनसुकै बेला नदी पस्न सक्ने खतरा पैदा भएको छ। समयमै बाँधको मर्मत सम्भार तथा आपत्कालीन तटबन्ध नियन्त्रणका कार्यहरू अघि नबढाइए ठूलो जनधनको क्षति हुनुका साथै सयौँ बिघा खेतीयोग्य जमिन बालुवाले पुरिने र जनजीवन अस्तव्यस्त हुने स्थानीयवासीको भनाइ छ।
​स्थानीयवासीका अनुसार केही दिनदेखि परेको वर्षाका कारण लालबकैया नदीमा पानीको बहाव दिनप्रतिदिन तीव्र हुँदै गएको छ। नदीले पश्चिमी तटबन्धका संवेदनशील स्थानहरूमा सोझै धक्का दिँदै कटान तीव्र पारेपछि मर्यादपुर, कटहरिया तथा आसपासका बस्तीहरूको घरबास, खेतीयोग्य जमिन र सार्वजनिक पूर्वाधारहरूसमेत जोखिममा परेका हुन्।
​सम्भावित ठूलो विपद् न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय र स्थानीय पालिका लगायतका सम्बन्धित निकायले तत्काल स्थलगत निरीक्षण गरी बाँध मर्मतका लागि तारजाली, बोरा र ग्याबियन थुपारेर रोकथामका आपत्कालीन कार्यहरू अघि बढाउन स्थानीयले जोडदार माग गरेका छन्। यदि समयमै कटान नरोकिए मौलापुर क्षेत्र मात्र नभई जिल्लाका तल्ला तटीय इलाका र सदरमुकाम गौरसम्मै बाढीको प्रत्यक्ष असर पर्न सक्ने चेतावनी स्थानीय अगुवाहरूले दिएका छन्।
​स्थानीय प्रशासन तथा सुरक्षा निकायहरूलाई कटान भइरहेको जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन र नदी किनारका नागरिकलाई सुरक्षित रहन आग्रह गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button