
सत्येन्द्र प्रताप सिंह
सर्लाही, २६ साउन
जिल्ला सुरक्षा समिति सर्लाहीले आम नागरिकको स्वास्थ्य र सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै डिजे बजाउन लगाएको पूर्ण प्रतिबन्धलाई बेवास्ता गरी ध्वनि प्रदूषण गराउँदै हिँड्ने एक गाडीसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिको साझा निर्णय विपरीत ठूलो आवाजमा डिजे बजाइएको विशेष सूचनाका आधारमा प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
मलंगवा नगरपालिका–९ स्थित गोरखकाली इलाकाबाट बा. १५ च ४२९१ नम्बरको योद्धा गाडीसहित त्यसमा जडान गरिएका ठूलो क्षमताका साउन्ड सिस्टम तथा विभिन्न प्राविधिक सामग्रीहरू बरामद गरिएको छ।
प्रहरीको नियन्त्रणमा पर्नेहरूमा डिजे सञ्चालक हरिपुर नगरपालिका–७ निवासी ५५ वर्षीय जोगेश्वर पण्डित र डिजे जडित गाडीका चालक बागमती नगरपालिका–४ निवासी २३ वर्षीय जगन्नाथ साह रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले नियन्त्रणमा लिइएका दुवै व्यक्ति सवारी साधन तथा बरामद साउन्ड सिस्टमलाई प्रहरी हिरासतमा राखी थप कानुनी अनुसन्धान अगाडि बढाइएको जानकारी दिए ।
मानव स्वास्थ्यमा गम्भीर प्रतिकूल असर पार्ने र समाजमा अशान्ति फैलाउने गरी कानुन विपरीत डिजे नबजाउन पटक-पटक सार्वजनिक सूचनामार्फत सचेत गराइसकिएको छ, डीएसपी गौतमले भने स्थानीय प्रशासन र प्रहरीको आदेशलाई अवज्ञा गर्ने जो-कोहीलाई पनि प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ।
जिल्ला प्रशासन कार्यालय र सुरक्षा समितिले सार्वजनिक धार्मिक तथा सामाजिक उत्सवहरूमा डिजेका कारण ध्वनि प्रदूषण हुनुका साथै भिडन्त र अशान्तिको जोखिम बढेकाले यसको प्रयोगमा कडाइ गरेको थियो। प्रहरीले जिल्लाभरि यस्ता अवैध गतिविधिमाथि कडा निगरानी राखिएको र आदेश उल्लङ्घन गर्नेहरूलाई नियन्त्रणमा लिने अभियान निरन्तर जारी रहने जनाए ।



