मधेशसमाचार

लालबकैया नदीमा डुबेर बेपत्ता तीन बालबालिकामध्ये दुई जनाको शव फेला एकको खोजी जारी

सत्येन्द्र प्रताप सिंह

रौतहट, २७ साउन

जिल्लाको देवाही गोनाही नगरपालिका–२ स्थित लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन जना बालबालिकामध्ये दुई जनाको शव बिहीबार बिहान फेला परेको छ।
​जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बुधबार दिउँसो १:५० बजेको समयमा देवाही गोनाही नगरपालिका २ लक्ष्मिनियास्थित लालबकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन बालबालिकामध्ये १० वर्षीय रमलुल्लाह र सवनम खातुनको शव फेला परेको हो।
​घटनास्थलबाट करिब २.५ किलोमिटर दक्षिणतर्फ परोहा नगरपालिका–२ जिंगडवा क्षेत्रको लालबकैया नदीमा बिहीबार बिहान ७ बजेतिर उनीहरूको शव तैरिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक बसन्त गौतमले जनाए ।
​बुधबार दिउँसो घटनालगत्तै नेपाल प्रहरी सशस्त्र प्रहरी र स्थानीयबासीको सहयोगमा अबेर रातिसम्म खोजी कार्य सञ्चालन गरिएको थियो। राति अध्यारोका कारण रोकिएको खोजी कार्य बिहीबार बिहानैदेखि पुनः सुरु गर्दा डुबेको स्थानभन्दा तल दुई जनाको शव भेटिएको प्रहरीले जनाए ।
​फेला परेका दुवै बालबालिकाको शवलाई कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि गौरस्थित प्रादेशिक अस्पताल ल्याउने तयारी भइरहेको छ।
​यस्तै डुबेर बेपत्ता भएकी तेस्रो बालिकाको खोजी कार्य अझै तीव्र पारिएको प्रहरीले जनाएको छ। गोताखोर तथा स्थानीय सुरक्षाकर्मीको टोलीले नदी तटीय क्षेत्र तथा तल्लो तटीय इलाकामा निरन्तर खोजी गरिरहेको डिएसपी गौतमले बताए।
​वर्षायामका कारण नदीमा पानीको बहाव बढेको र तीव्र गति रहेकाले बालबालिकाहरूलाई नदी तथा जलाशय क्षेत्रमा एक्लै नपठाउन र विशेष सतर्कता अपनाउन जिल्ला प्रशासन तथा प्रहरी कार्यालयले अभिभावकहरूलाई आग्रह गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button