मधेशसमाचार

जिप चालकलाई अपहरण शैलीमा नियन्त्रणमा लिई मरणासन्न हुने गरी कुटपिट

रुपेश यादव

रौतहट, २७ साउन

रौतहटमा जिप चालकलाई बाटोमै जबर्जस्ती रोकेर अपहरण शैलीमा घरमा लगेर मरणासन्न हुने गरी कुटपिट गरिएको घटना सार्वजनिक भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ भने अर्का आरोपीको खोजी भइरहेको छ।
सोमबार राति करिब पौने ९ बजे गौरबाट दुर्गा भगवती गाउँपालिकातर्फ जाँदै गरेको बीआर ०६ पीई २१२१ नम्बरको जिपलाई राजदेवी नगरपालिका–२ हजमिनिया गाउँमा जबर्जस्ती रोकिएको बताइएको छ। जिप चालक दुर्गा भगवती गाउँपालिका–३ का २५ वर्षीय अरविन्द पण्डित पाहुना लिएर गन्तव्यतर्फ जाँदै थिए।
पीडित पक्षका अनुसार गौर नगरपालिका–९ का साहेब सिंह भनिने राजवंश सिंह र उनका छोरा आयुष सिंहले चालक पण्डितलाई गाडी रोक्न दबाब दिएका थिए। गाडी नरोके पेट्रोल छर्केर आगो लगाइदिने धम्की दिएपछि चालकले गाडी रोकेको बताइएको छ।
त्यसपछि बाबुछोराले चालकलाई जबर्जस्ती नियन्त्रणमा लिएर गौर नगरपालिका–९ स्थित सिर्सियास्थित घरमा लगेको र त्यहाँ बाँधेर अम्बाको लौरोले कुटपिट गरेको आरोप छ। कुटपिटबाट गम्भीर घाइते भएका पण्डितलाई स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए।
सूचना पाएलगत्तै पुगेको प्रहरीले चालकको उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल गौरमा भर्ना गराएको जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बुधबार बिहान राजवंश सिंहलाई नियन्त्रणमा लिएको छ। उनका छोरा आयुष सिंह भने फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहट स्रोतले जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार गौर–गंगापिपरा सडकखण्डअन्तर्गत सिर्सिया क्षेत्रमा सडकमा रहेको कुकुर जिपले किचेर मरेको विषयलाई लिएर चालकलाई निशाना बनाइएको देखिएको प्रहरीले जनाएको छ। सोही विषयलाई लिएर अर्को पालिकामा पुगेर चालकलाई नियन्त्रणमा लिई कुटपिट गरिएको भन्दै पीडित पक्षले घटनामा संलग्न सबैमाथि कडा कानुनी कारबाही गर्न माग गरेको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button