
रौतहट, २७ साउन
इलाका प्रहरी कार्यालय मौलापुरमा घुमुवाका रूपमा कार्यरत प्रहरी जवान दिपक कुमार गिरीमाथि व्यवसायी तथा अवैध कारोबारमा संलग्न भनिएका व्यक्तिहरूबाट रकम असुली गरेको गम्भीर आरोप लागेको छ। गिरीसँग सम्बन्धित भनिएको एउटा हस्तलिखित कागजात सार्वजनिक भएपछि प्रहरीको घुमुवा परिचालन तथा उनीहरूको गतिविधिमाथि प्रश्न उठेको हो।
सार्वजनिक भएको कागजातमा इलाका प्रहरी कार्यालय मौलापुर, रौतहट उल्लेख गर्दै प्रहरी जवान गिरीको नाम, प्रहरी कर्मचारी संकेत नम्बर तथा घुमुवाका रूपमा कार्यरत रहेको विवरण लेखिएको छ। त्यसपछि विभिन्न व्यवसायी तथा व्यक्तिको नाम र उनीहरूबाट लिइएको भनिएको रकम उल्लेख गरिएको छ।
कागजातमा सन्जिवा जयसवाल (किराना) १५ हजार, जयप्रकाश जयसवाल १५ हजार, नगु जयसवाल (किराना) २ हजार, अनिल जयसवाल (मिठ्ठा) ४० हजार, राजेन्द्र महतो (कपडा) २ हजार, विनोद ‘काका’ (कपडा) १० हजार, रहिका पटेल (कस्मेटिक/कपडा) १० हजार, सन्जिवा जयसवाल (कपडा) १४ हजार, कान्छु भन्ने मैनी झापती १५ हजार, कोपवा भन्ने मोतीराम मियाँ (भैँसी) १५ हजार, विरेन्द्र यादव (रक्सी) २ हजार, साहेब यादव (रक्सी) ३ हजार र रामचन्द्र मेहतर (रक्सी) २ हजार रुपैयाँ उल्लेख गरिएको छ।
कागजातमा एउटै व्यक्तिको नाम फरक–फरक शीर्षकमा दोहोरिएको र रकमसमेत उल्लेख भएकाले यसलाई नियमित असुलीको विवरणका रूपमा तयार गरिएको हो कि भन्ने प्रश्न उठेको छ। यद्यपि, कागजातमा उल्लिखित नाम, रकम तथा विवरणको स्वतन्त्र पुष्टि हुन बाँकी रहेको छ।
प्रहरीमा घुमुवा परिचालन गर्नुको मुख्य उद्देश्य अपराध नियन्त्रण, सूचना संकलन तथा अवैध गतिविधिमाथि निगरानी गर्नु हो। तर, सार्वजनिक भएको कागजातमा उल्लेखित विवरण सत्य प्रमाणित भएमा प्रहरीको जिम्मेवारीलाई नै व्यक्तिगत आर्थिक असुलीका लागि प्रयोग गरिएको हुन सक्ने गम्भीर प्रश्न उठ्नेछ।
यस घटनाले प्रहरीको घुमुवा परिचालनको प्रभावकारिता, उनीहरूको निगरानी तथा कार्यसम्पादनमाथि समेत प्रश्न खडा गरेको छ। विशेषगरी सीमावर्ती तथा अवैध कारोबार हुन सक्ने क्षेत्रमा खटाइएका प्रहरी कर्मचारीको गतिविधिमाथि नियमित अनुगमन र प्रभावकारी आन्तरिक नियन्त्रण आवश्यक देखिन्छ।
आरोपबारे प्रहरी जवान दिपक कुमार गिरीसँग प्रतिक्रिया लिँदा उनले आफूले व्यवसायी तथा अवैध कारोबारीबाट रकम असुली नगरेको भन्दै आरोप असत्य रहेको बताएका छन्।
यस्तै, इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख प्रहरी निरीक्षक भरत केसीले आफ्नो कार्यालय रहेको स्थान सीमाबाट करिब आठ–नौ किलोमिटर टाढा रहेको उल्लेख गर्दै कुनै पनि प्रहरी कर्मचारीले तस्कर वा अवैध कारोबारीसँग रकम लिएको प्रमाणित भए कारबाही गर्ने बताएका छन्।
प्रहरी निरीक्षक केसीले प्रहरी कर्मचारीको संलग्नता प्रमाणित भए संगठनको नियमअनुसार कारबाही हुने स्पष्ट पारेका छन्।
कागजात सार्वजनिक भएसँगै उठेको आरोपको सत्यतथ्य पत्ता लगाउन सम्बन्धित प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय रौतहटबाट निष्पक्ष छानबिन आवश्यक देखिएको छ। कागजात वास्तविक हो वा होइन, त्यसमा उल्लेखित रकम कसरी र कसबाट संकलन भएको हो तथा प्रहरी जवान गिरीको त्यसमा कुनै संलग्नता छ वा छैन भन्ने विषयमा अनुसन्धानपछि मात्रै निष्कर्षमा पुग्न सकिने देखिन्छ।
प्रहरी संगठनसँग जोडिएको यस्तो गम्भीर आरोपमाथि समयमै छानबिन गरी वास्तविकता सार्वजनिक गर्न सके प्रहरीप्रति जनविश्वास कायम राख्न सहयोग पुग्ने स्थानीयस्तरमा अपेक्षा गरिएको छ।



