मधेशसमाचार

सिम्रौनगढमा विद्यालयको समय फेरियो, बिहान ६ बजेदेखि कक्षा सञ्चालन

बारा, २७ साउन

तराई–मधेसका जिल्लामा गर्मीको प्रभाव बढ्दै गएपछि बाराको सिम्रौनगढ नगरपालिकाले नगर क्षेत्रका विद्यालयमा बिहानी कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज अधिकारीद्वारा जारी सूचनामा विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै विद्यालयको नियमित समयतालिका परिवर्तन गरिएको जनाइएको छ। नगरपालिकाअन्तर्गत सञ्चालित सम्पूर्ण सामुदायिक तथा धार्मिक विद्यालयमा साउन २८ गतेदेखि अर्को सूचना जारी नभएसम्म बिहानी सत्रमा पठनपाठन सञ्चालन गर्न अनुरोध गरिएको छ।
नयाँ समयतालिकाअनुसार विद्यालय बिहान ६ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछन्। दिउँसोको समयमा तापक्रम अत्यधिक बढ्ने भएकाले विद्यार्थीलाई चर्को गर्मीबाट जोगाउन विद्यालयको समय बिहानतर्फ सारिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले नयाँ समयअनुसार नियमित पठनपाठन सञ्चालन गर्न विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी तथा सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ। अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असर न्यूनीकरण गर्न समय परिवर्तन गरिएको नगरपालिकाको भनाइ छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button