
उपेन्द्र पासवान
बारा, ३० साउन
बाराको देवताल गाउँपालिकामा सुशासन, सामाजिक उत्तरदायित्व, शिक्षा, स्वास्थ्य तथा सामाजिक रूपान्तरणको अभियान अघि बढाउने उद्देश्यले ‘देवताल वैचारिक मञ्च’को सम्पर्क कार्यालय स्थापना गरिएको छ।
देवताल गाउँपालिका कार्यालयबाट धुरहा जाने नहरको बाटो कर्नरस्थित चौमुखी बाटोमा स्थापना गरिएको कार्यालयको उद्घाटन मञ्चका अध्यक्ष सन्दिप प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा स्थानीय ज्येष्ठ नागरिक कमल प्रसाद यादवले रिबन काटेर गरेका हुन्।
उद्घाटन कार्यक्रममा वक्ताहरूले देवतालको विकास र सामाजिक रूपान्तरणका लागि युवाको सक्रिय सहभागिता आवश्यक रहेको बताए। युवा पुस्तालाई नेतृत्व तथा निर्णय प्रक्रियामा सहभागी गराउनुपर्नेमा जोड दिँदै धुपलाल निषादले युवाको सहभागिताबिना अपेक्षित सामाजिक परिवर्तन सम्भव नहुने धारणा व्यक्त गरे।
देवताल परिवर्तनको खोजीमा रहेको उल्लेख गर्दै निषादले परिवर्तन राजनीतिक नाराबाट मात्र नभई शिक्षा, स्वास्थ्य, सुशासन र सकारात्मक सोचको विकासबाट सम्भव हुने बताए।
मञ्चका संस्थापक सदस्य सुनिल यादवका अनुसार ‘देवताल वैचारिक मञ्च’ले आगामी स्थानीय तह निर्वाचन २०८४ लाई लक्षित गर्दै स्वतन्त्र विचार र स्पष्ट एजेन्डासहित गाउँपालिका अध्यक्षदेखि वडा अध्यक्ष तथा वडा सदस्यसम्मका पदमा उम्मेदवारी दिने तयारी थालेको छ। जनताको आवश्यकता, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राखेर वैकल्पिक राजनीतिक अभियान अघि बढाउने तयारी भइरहेको उनले बताए।
मञ्चले अघि सारेको ‘मिशन २०८४’ समाज परिवर्तन, सुशासन र सामाजिक उत्तरदायित्वमा केन्द्रित रहेको जनाएको छ। समाजमा देखिएका विभिन्न बौद्धिक तथा राजनीतिक प्रवृत्तिमाथि गम्भीर बहस, समीक्षा र आलोचनात्मक विमर्श आवश्यक रहेको मञ्चको भनाइ छ।
मञ्चले विवेक, नैतिकता र सत्यका पक्षमा उभिने तथा अन्याय, अत्याचार, भ्रष्टाचार र विभेदविरुद्ध आवाज उठाउने व्यक्तिलाई सामाजिक रूपान्तरणको अभियानमा सक्रिय हुन आह्वान गरेको छ। व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिने, सत्ता वा सामन्ती सोचको पक्षपोषण गर्ने तथा वंशवाद र जातिवादलाई बढावा दिने प्रवृत्तिको आलोचना गर्दै स्वतन्त्र सोच र नैतिक नेतृत्व आवश्यक रहेको मञ्चले जनाएको छ।
‘मिशन २०८४’मार्फत नवयुवा पुस्तालाई विवेक, नैतिकता र कर्मका आधारमा समाजसेवामा सक्रिय हुन आह्वान गरिएको संस्थापक सदस्य यादवले बताए। आर्थिक लाभभन्दा सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै नयाँ पुस्ताले समाजलाई सकारात्मक दिशामा अघि बढाउन सक्ने उनको भनाइ छ।
कार्यक्रममा ज्येष्ठ नागरिक पुनित भगत, भोला सहनी, अनुठा राय यादव, समाजसेवी मुकेश सिंह, रामनिवास साह, मञ्चका ज्ञानेन्द्र यादव, गुडु साहलगायत स्थानीय युवा, बुद्धिजीवी तथा समाजसेवीहरूको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन मञ्चका प्रवक्ता मुक्ति सहनीले गरेका थिए।
सम्पर्क कार्यालय स्थापनासँगै देवताल गाउँपालिकामा वैकल्पिक विचार, युवा सहभागिता, सुशासन, सामाजिक न्याय तथा सामाजिक रूपान्तरणसम्बन्धी बहसलाई थप व्यापक बनाउने मञ्चले जनाएको छ।



