घुमुवा यादवको सहकार्यमा प्रहरी नायब निरीक्षक श्रेष्ठ कमाउ धन्दामा
शु.आ. सम्बाददाता
कलैया, ०७ साउन
बिगत लामो समयदेखि प्रहरी हवल्दार धर्मवीर यादव ईलाका प्रहरी कार्यालय अमलेखगंजमा घुमुवाको रुपमा कार्यरत रहेका छन्। ईलाका प्रहरी कार्यालय अमलेखगंजमा ईन्चार्जहरु सरुवा ६/६ महिनामा हुने गरेको छ। तर जुनसुकै ईन्चार्ज अमलेखगंजको ईन्चार्ज भई गएमा यादव नै घुमुवाको रुपमा परिचालन गर्ने गरेका छन्। जसको कारणले प्रहरी हवल्दार यादवलाई ईलाका प्रहरी कार्यालय अमलेखगंजको घुमुवा बसेको करीब दुई बर्ष भन्दा माथि भएको छ।
घुमुवा यादव अमलेखगंज सरुवा हुनुभन्दा पहिला प्रहरी चौकि पथलैयाको घुमुवा बसेका थिए। अमलेखगंज र पथलैयामा मात्र करिब तिन बर्ष भन्दा बढी समयसम्म घुमुवा बसेकोले यादवलाई उक्त राजमार्गबाट असुली गर्ने सम्पुर्ण जानकारी प्राप्त रहेको छ। उक्त जानकारीहरुको प्रत्यक्ष फाइदा इलाका प्रहरी कार्यालय अमलेखगंजको ईन्चार्जहरुले लिने गरेका छन्।
भारतका विभिन्न नाकाबाट हुने तस्करीका सामानहरू अमलेखगञ्ज हुँदै नेपालको बिभिन्न ठाउँमा पुग्ने गरेको हुन्छ। त्यसमा बिशेष गरी पर्सा र बाराको सिमा नाकाबाट हुने गरेको तस्करीको समानहरु रात्रीकालीन बस सहित ट्रान्सपोर्टको माध्यमले ट्रकहरुबाट तस्करीका सामानहरू अमलेखगञ्जमा कुनै पनि चेकजाँच विना नै पास हुने गरेको स्थानीय स्रोतको दाबी रहेको छ। यसको मुख्य कारण सादा पोशाकमा खटिने घुमुवा हवल्दार धर्मवीर यादवले मिलाएको ‘सेटिङ’ भएको आरोप छ।
घुमुवा यादवले भारतको रक्सौल र नेपालको मुख्य आर्थिक नगरी वीरगंज लगायत मधेश प्रदेशको बिभिन्न सिमावर्ती बजारबाट तस्करीका सामान ढुवानी गर्ने रात्रिकालिन बस र ट्रान्सपोर्ट सेवाका मालिकहरूसँग मोटो रकम लिई छाड्ने गरेको श्रोतको दाबी रहेको छ। यसरी घुमुवा यादवले उठाएको रकम ईलाका प्रहरी कार्यालय अमलेखगंजको ईन्चार्ज धनबहादुर श्रेष्ठले लिने गरेकोले बिगत झै प्रहरी यादवलाई नै घुमुवाको रुपमा हाल पनि परिचालन गरीएको छ।
ब्यापारीहरु तथा ट्रान्सपोर्टको मालिकहरु महिनावारीको रकम नदिन आनाकानी गर्ने ट्रान्सपोर्टको ट्रकहरु सहित रात्रीकालिन बसबाट घुमुवा यादवको निर्देशनमा समानहरु नियन्त्रणमा लिई राजश्व कार्यालय बुझाउने गरेको प्रहरी श्रोतको नै दाबी रहेको छ। यसरी नै यादवले सेटिङ मिलाउने गरेकोले कुनै पनि नयाँ इन्चार्ज आउँदा सहजै घुलमिल हुने गरेको श्रोतको दाबी रहेको छ। यसको प्रमुख कारण यादवले हाकिमहरूलाई दिने ‘सेवा’ र सबै प्रकारका जानकारीहरू भएको आरोप छ।
साथै ईलाका प्रहरी कार्यालय अमलेखगंजको ईन्चार्ज प्रहरी नायब निरीक्षक धनबहादुर श्रेष्ठले आफु गृहमन्त्रीको नजिकको मान्छे भएकोले कसैले केहि गर्न नसक्ने भन्दै घुमुवा यादव मार्फत नै अमलेखगंजलाई असुली गर्ने अड्डाको रुपमा परिणत गरेका छन्।
यस बिषयमा ईलाका प्रहरी कार्यालय अमलेखगंजको ईन्चार्ज एवम् प्रहरी नायब निरीक्षक धनबहादुर श्रेष्ठसँग कुरा गर्दा बिरगंज लगायत अन्य ठाउँमा अमलेखगंज आउँदा अन्य प्रहरी युनिट रहेका छन्। अमलेखगंजसम्म आईपुग्न सवै युनिटहरु मिल्नुपर्ने बताएका छन्। साथै ईलाका प्रहरी कार्यालय अमलेखगंज ईलाका प्रहरी कार्यालय सिमरा अन्तर्गत भएकोले आफु कतिको समानहरु पक्राउ गरीएको त्यहाँबाट बुझ्न सकिने जानकारी दिदैं प्रहरी हवल्दार धर्मवीर यादव हिजो अस्ति नै सिमरा हाजिर भईसकेको बताएका छन्। तर जिल्ला प्रहरी कार्यालय बारामा सम्पर्क गर्दा प्रहरी हवल्दार धर्मवीर यादवको मँगलबार मात्र सरुवा भएको छ। हालसम्म यादव रवाना पत्र नदिएकोले हाजिर हुने कुरै छैन।