
बारा, ०१ भदौ
सरकार फेरिए, सत्ता समीकरण फेरिए, नीतिनियम र प्राथमिकताका भाषण फेरिए। तर सीमावर्ती क्षेत्रमा मौलाएको तस्करी र त्यसलाई नियन्त्रण गर्ने जिम्मेवारी पाएका सुरक्षा निकायको कार्यशैली भने उस्तै रहेको स्थानीयको गुनासो छ। बाराको छतवा नाकामा पछिल्लो समय मौलाएको कपडा तथा चल्ला तस्करीले यही प्रश्नलाई फेरि सतहमा ल्याएको छ।
भारतसँग सीमा जोडिएको छतवा–कल्याणपुर नाका पछिल्लो समय अवैध कारोबार गर्ने समूहका लागि सहज मार्ग बन्दै गएको स्थानीयको आरोप छ। उनीहरूका अनुसार दैनिक ठूलो परिमाणमा कपडाका पोका नेपाल भित्रिने गरेका छन्। कतिपय तस्करले मोटरसाइकल तथा अन्य साधन प्रयोग गर्ने गरे पनि ठूलो हिस्सा कपडा टाउकोमा बोकेर सीमापार गराउने गरिएको बताइन्छ।
स्थानीय स्रोतका अनुसार सीमावर्ती क्षेत्रमा सक्रिय भनिएका केही तस्करले दैनिक २० देखि २५ पोका कपडासम्म नेपाल भित्र्याउने गरेका छन्। प्रहरीको नियमित गस्ती र सुरक्षा उपस्थितिका बाबजुद यस्तो कारोबार नरोकिएपछि सीमामा खटिएका सुरक्षा संयन्त्रमाथि नै प्रश्न उठेको छ।
छतवा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको नियमित उपस्थिति छ। कल्याणपुर क्षेत्रमा सशस्त्र प्रहरीको बेस तथा सीमा प्रहरी चौकी छतवाबाट सुरक्षाकर्मी परिचालन हुँदै आएका छन्। तर स्थानीयको दाबीअनुसार सुरक्षा निकायको उपस्थितिकै बीच तस्करी चलिरहनुले सामान्य कमजोरीभन्दा बाहिरको विषय हुनसक्ने आशंका बढाएको छ।
एक स्थानीयका अनुसार दिनको समयमा सामान्य देखिने कल्याणपुर नाका रात परेपछि भने तस्करीका गतिविधिले चलायमान हुने गरेको छ। अँध्यारोको फाइदा उठाउँदै कपडाका पोका टाउकोमा बोकेर सीमापार गर्ने तथा मोटरसाइकलमा चल्ला ओसारपसार गर्ने क्रम हुने गरेको उनको भनाइ छ।
“प्रहरीको आँखा अगाडिबाटै सामान वारपार हुन्छ भने सुरक्षा व्यवस्था प्रभावकारी छ भनेर कसरी विश्वास गर्ने?” ती स्थानीयले प्रश्न गरे।
कपडासँगै सीमावर्ती क्षेत्रमा चल्लाको अवैध ओसारपसारसमेत भइरहेको स्थानीयको दाबी छ। उनीहरूका अनुसार रातिको समयमा दैनिक ५ देखि ७ वटा मोटरसाइकल प्रयोग गरी चल्ला नेपाल भित्र्याउने गरिएको छ।
भारतबाट अवैध रूपमा ल्याइएका चल्लाले स्थानीय व्यवसायी तथा वैधानिक रूपमा कारोबार गर्ने व्यवसायीलाई समेत असर पार्ने भन्दै स्थानीयले सम्बन्धित निकायले तत्काल अनुगमन गर्नुपर्ने माग गरेका छन्।
सुरक्षा निकायको नियमित उपस्थिति भएको स्थानबाट लामो समयसम्म ठूलो परिमाणमा अवैध सामान वारपार भइरहनुले स्थानीयमा गम्भीर आशंका जन्माएको छ। कतिपय स्थानीयले यसलाई सुरक्षा निकायका केही व्यक्तिको सम्भावित मिलेमतो वा आर्थिक लेनदेनसँग जोडेर हेर्न थालेका छन्।
सीमामा हुने सानो–ठूलो अवैध कारोबारलाई समयमै नियन्त्रण नगर्दा त्यसले संगठित तस्करीको रूप लिन सक्ने सुरक्षा जानकारहरू बताउँछन्। छतवा नाकामा अहिले देखिएको गतिविधिले पनि यही खतरा औँल्याएको स्थानीयको भनाइ छ।
सीमावर्ती क्षेत्रमा सर्वसाधारणले दैनिक उपभोग्य वस्तु वा कृषि प्रयोजनका सामग्री ल्याउँदा कडाइ गर्ने तर ठूलो परिमाणमा अवैध रूपमा सामान ओसारपसार गर्ने समूह भने निर्वाध चलायमान हुने अवस्था बनेको भए त्यसको निष्पक्ष छानबिन आवश्यक छ।
छतवा नाकामा देखिएको भनिएको कपडा तथा चल्ला तस्करीबारे जिल्ला प्रहरी कार्यालय बारा र सशस्त्र प्रहरी बल नेपाल, १२ नम्बर गणले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।
स्थानीयले सीमा क्षेत्रमा खटिने प्रहरीको नियमित सरुवा, आकस्मिक अनुगमन, रातिको समयमा विशेष गस्ती तथा तस्करीमा संलग्न व्यक्तिमाथि कानुनी कारबाहीको माग गरेका छन्। साथै, सुरक्षा निकायका कर्मचारीकै सम्भावित संलग्नताको आरोप भए त्यसको समेत निष्पक्ष छानबिन हुनुपर्ने उनीहरूको भनाइ छ।
सीमा सुरक्षाको जिम्मेवारी पाएका निकायको उपस्थितिकै बीच तस्करीले निरन्तरता पाएको हो भने प्रश्न केवल केही पोका कपडा वा चल्लाको होइन, सीमा सुरक्षाको विश्वसनीयता र राज्यको निगरानी संयन्त्रमाथिको प्रश्न हो। त्यसैले छतवा–कल्याणपुर नाकामा भइरहेको भनिएको अवैध कारोबारको तत्काल स्थलगत अनुगमन, अनुसन्धान र दोषी देखिए कानुनी कारबाही अपरिहार्य देखिएको छ।



