मधेशसमाचार

धान खेतको आलीबाट १५१ किलो गाँजा बरामद

बारा , २१ भदौ

पचरौता नगरपालिका–७ मा प्रहरीले ठूलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ। शनिबार राति धान खेतको आली हुँदै गाँजा ओसारिरहेका व्यक्तिहरू प्रहरीको घेराबन्दीमा परेपछि गाँजाका बोरा खेतमै छाडेर फरार भएका हुन्।
प्रहरी चौकी श्रीनगर बैरियाका प्रहरी सहायक निरीक्षक राजेश सिंह र सशस्त्र प्रहरी बल, नेपाल बीओपी बेनौलीका सशस्त्र प्रहरी नायव निरीक्षक श्यामबहादुर खत्रीको कमाण्डमा खटिएको संयुक्त एम्बुस टोलीले गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
प्रहरीका अनुसार बेनौली चोकबाट करिब ३०० मिटर पूर्व धान खेततर्फको बाटोमा रातिको समयमा पिठ्युँमा झोलाजस्तो बनाएर सामान बोकेको ८ देखि ९ जनाको समूह देखिएको थियो। शंकास्पद गतिविधि देखिएपछि संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिन खोजेको थियो।
प्रहरीलाई देखेपछि समूहका सदस्यहरू खेततर्फ भागेका थिए। उनीहरूले बोकेका गाँजाका पोका बाटोमै छाडेर फरार भएपछि प्रहरीले खोजतलास गर्ने क्रममा ९ वटा जुटका बोरामा प्याक गरिएको गाँजा फेला पारेको हो।
बरामद गाँजा तौल गर्दा प्रतिपोका १६.७७ किलोका दरले कुल १५१ किलो रहेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए।
उनका अनुसार बरामद गाँजा थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको छ। गाँजा छाडेर फरार भएका व्यक्तिहरूको पहिचान तथा खोजीका लागि प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।
सीमावर्ती क्षेत्रमा पछिल्लो समय अवैध लागुऔषध ओसारपसारका गतिविधि बढिरहेका बेला ठूलो परिमाणमा गाँजा बरामद हुनुले तस्करीको नयाँ बाटो तथा शैलीप्रति सुरक्षा निकायको निगरानी आवश्यक देखिएको छ। धान खेत र ग्रामीण बाटो प्रयोग गरी समूहगत रूपमा गाँजा ओसार्ने प्रयास भएको घटनाले सीमावर्ती क्षेत्रमा रातको समयमा हुने अवैध गतिविधिमाथि थप निगरानीको आवश्यकता समेत औँल्याएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button