मधेशसमाचार

फेटामा रौनियारको स्वागत, ओझाको भावपूर्ण बिदाइ

बारा , १६ असोज

भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत स्थानीय तह कर्मचारी प्रशासन शाखाको २०८३ भदौ २९ गतेको निर्णयअनुसार फेटा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा मुन्ना रौनियार सरुवा भएका छन्। यसै निर्णयअनुसार फेटा गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाको सिराहाको नवराजपुर गाउँपालिकामा सरुवा भएको छ।


सरुवा भएर फेटा गाउँपालिकामा आएका रौनियारलाई शुक्रबार गाउँपालिकाले औपचारिक कार्यक्रम आयोजना गरी भव्य स्वागत गरेको छ। सोही अवसरमा लामो समयदेखि गाउँपालिकाको प्रशासनिक नेतृत्व सम्हालेका ओझालाई भावपूर्ण रूपमा बिदाइ गरिएको हो।
गाउँपालिका अध्यक्ष रुस्तम अँसारी, उपाध्यक्ष निलम साह, वडा नं. २ का वडाध्यक्ष नरेश पटेलसहित जनप्रतिनिधि तथा कर्मचारीहरूको उपस्थितिमा आयोजित स्वागत तथा बिदाइ कार्यक्रममा दुवै प्रमुख प्रशासकीय अधिकृतको कार्यसम्पादन, प्रशासनिक क्षमता र समन्वयकारी भूमिकाको प्रशंसा गरिएको थियो।


कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा कर्मचारीहरूले रौनियारको आगमनसँगै गाउँपालिकाको प्रशासनिक कामकारबाही, सेवा प्रवाह र विकास निर्माणका गतिविधिले थप गति लिने अपेक्षा व्यक्त गरे। स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको भूमिका प्रशासन सञ्चालनसँगै जनप्रतिनिधि, कर्मचारी र नागरिकबीच समन्वय कायम गर्ने महत्वपूर्ण जिम्मेवारीका रूपमा रहने भएकाले रौनियारको अनुभवले गाउँपालिकाको समग्र प्रशासनलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो।
त्यस्तै, फेटामा कार्यरत रहँदा ओझाले प्रशासनिक व्यवस्थापन, सेवा प्रवाह तथा गाउँपालिकाका दैनिक कार्य सञ्चालनमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै उहाँको आगामी कार्यकालको सफलताको शुभकामना दिइएको थियो। सहभागीहरूले ओझाले कार्यकालका क्रममा जनप्रतिनिधि तथा कर्मचारीसँग समन्वय गर्दै कार्यालय सञ्चालनमा पुर्‍याएको योगदानलाई स्मरण गर्दै बिदाइका क्रममा भावपूर्ण शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा ओझालाई आगामी जिम्मेवारीका लागि शुभकामना दिँदै ‘फेरि भेटौँला’ भन्दै बिदाइ गरिएको थियो भने नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत रौनियारलाई गाउँपालिकाको प्रशासनिक नेतृत्व सफलतापूर्वक अघि बढाउन शुभकामना दिइएको थियो।


कार्यक्रममा अध्यक्ष अँसारीले नयाँ प्रमुख प्रशासकीय अधिकृतसँग जनप्रतिनिधि र कर्मचारीबीच प्रभावकारी समन्वय कायम गरी गाउँपालिकाको सेवा प्रवाहलाई अझ चुस्त, पारदर्शी र नागरिकमैत्री बनाउनेतर्फ अघि बढ्ने अपेक्षा व्यक्त गरे।
उपाध्यक्ष साह, वडाध्यक्ष पटेललगायत जनप्रतिनिधि तथा कर्मचारीहरूले पनि दुवै अधिकृतको प्रशासनिक अनुभव र कार्यक्षमताको प्रशंसा गर्दै नयाँ जिम्मेवारीका लागि शुभकामना दिएका थिए। कार्यक्रममा गाउँपालिकाका विभिन्न शाखाका कर्मचारी तथा अन्य जनप्रतिनिधिको समेत उल्लेख्य सहभागिता रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button