ट्राफिक प्रहरी कमाई धन्धा ब्यस्त, एक बर्षमा १ हजार १४७ सवारी दुर्घटनाबाट ९३ जनाले मृत्यु
शु.आ. सम्बाददाता
कलैया, २६ साउन
ट्राफिक प्रहरीको मुख्य काम सवारी आवागमनलाई सुचारु रुपले सञ्चालन गर्नु सवारी ऐन विपरीत चलेका सवारी साधनहरुलाई कानून बमोजिम कारवाही गर्नु, राजश्व वृद्धि गर्नु र दुर्घटना न्यून गराउनु हो । तर जिल्ला ट्राफिक कार्यालय बारा त्यसको उल्टो सवारी साधनबाट र ट्रायल सेन्टरबाट कमाई धन्धामा ब्यस्त हुने गरेको छ। जसको फलस्वरूप आर्थिक वर्ष २०८१/०८२ को साउन देखि आषाढसम्म् बारा जिल्ला मात्र १ हजार १४७ सवारी दुर्घटना भएको छ। उक्त सवारी दुर्घटनामा ९३ जनाले अकाल मै ज्यान गुमाई सकेको ट्राफिक तथ्याङ्कले नै देखाएको छ।
जिल्ला ट्राफिक कार्यालय बाराको प्रहरी निरीक्षक दिपक के.सि.ले जिल्ला ट्राफिक युनिट सहित यातायात ब्यबस्था कार्यालय कलैयाको ट्रायल सेन्टरबाट महिनावारी लिने गरेकोले जिल्लामा यस्तो स्थिति सिर्जना भएको छ।
प्रहरी निरीक्षक केसिको राजश्व संकलन सहित महिनावारी उठाउन निर्देशन पाएपछि ट्राफिक प्रहरी युनिटहरुले सवारी साधन चेकजाँच बस्ने तर आफुले पाएको जिम्मेवारी पालना नगर्ने भएकोले यति दुघर्टना सहित ९३ जना यात्रुको मृत्यु भएको छ। मृत्यु हुनेको संख्या मधेश प्रदेशको आठ वटै जिल्ला भन्दा बढि रहेको तथ्यांकले नै देखाएको छ।
तथ्याङ्क अनुसार पर्सामा ५५६ दुर्घटनामा ४७ जनाले ज्यान गुमाएका छन् भने, रौतहटमा ८०८ वटा दुर्घटना हुँदा ६६ जना, सलार्हीमा १ हजार ३७ दुर्घटनामा ५६ जना, महोत्तरीमा ६७९ दुर्घटनामा ४५ जनाको ज्यान गएको छ ।
त्यसैगरी धनुषामा १ हजार २२१ दुर्घटनामा ८४ जना, सिराहामा ९६७ दुर्घटनामा ८९ जना र सप्तरीमा ८२८ दुर्घटनामा ८४ जना मात्रले ज्यान गुमाएका छन् ।
त्यस्तै ट्राफिक प्रहरी निरीक्षक केसीले बिगतमा यातायात ब्यबस्था कार्यालय गौर रौतहटमा बदनाम भएका प्रहरी प्रहरी नायब निरीक्षक किरण कार्कीलाई पुनः यातायात ब्यबस्था कार्यालय कलैया बाराको ट्रायल सेन्टरको जिम्मेवारी दिएका छन्। प्रहरी निरीक्षक केसीको सहकार्यमा प्रहरी नायब निरीक्षक कार्किले ट्रायल सेन्टरबाट सँचालन हुने सवारी चालक अनुमतिपत्रलाई नै कमाई खाने भाँडो बनाएको आरोप रहेको छ।
यातायात ब्यबस्था कार्यालय कलैयाबाट सवारी चालक अनुमतिपत्रको लिखित र प्रयोगात्मक परीक्षामा फेल भएका उम्मेदवारलाई प्रहरी नायब निरीक्षक कार्किले यातायात कार्यालयको ईन्जिनियरसँग मिलि उतिर्ण गराई ज्यानमारा सवारी चालक अनुमतिपत्र वितरण गर्ने गरेको आरोप रहेको छ।
यस बिषयमा बिभिन्न समयमा ट्राफिक प्रहरी निरीक्षक दिपक केसीसँग सम्पर्क गर्दा यातायात ब्यबस्था कार्यालय कलैयाको ट्रायल सेन्टरमा ट्राफिक प्रहरी लिखित र प्रयोगात्मक परीक्षामा मात्र सहभागी हुने गरेको बताएका छन्। ट्राफिक प्रहरीको काम मात्र लिखित र प्रयोगात्मक रहेकोले यदि त्यस्तो भएको प्रमाण भेटिए कार्वाही गर्ने वा कार्वाहीको लागि सिफारिस गर्ने बताएका छन्।