मधेशसमाचार

आतंकवादबाट लड्न सबैको साझा प्रतिबद्धता आवश्यक

आतंकवादबाट लड्न सबैको साझा प्रतिबद्धता आवश्यक

 

काठमाडौँ, २६ साउन

आतंकवादबाट लड्न सबै पक्षको साझा प्रतिबद्धता आवस्यक रहेको बताइएको छ। आतंकवादको समाधानका लागि केवल सैन्य कारबाही पर्याप्त नहुने र यसको मूल कारण पहिचान गरी बहुआयामिक सहकार्य आवश्यक पर्नेमा सरोकारवालाले जोड दिएका छन्।

 

नेपाल-भारत विकास मञ्चको आयोजनामा राजधानीमा सम्पन्न ‘दक्षिण एसियामा आतंकवाद र दिगो समाधानतर्फ’ विषयक कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सीमापार आतंकवाद, भूराजनीतिक प्रतिस्पर्धा, खुला सीमाको चुनौती र प्रोक्सी युद्धको प्रवृत्ति दक्षिण एसियाली स्थिरताका लागि प्रमुख खतरा भएको बताए ।

 

अफगानिस्तानदेखि माल्दिभ्ससम्मका मुलुक पृथकतावादी विद्रोह, धार्मिक अतिवाद र राज्य–प्रायोजित गतिविधिबाट प्रभावित भएको उल्लेख गर्दै उनले सुरक्षा मात्र नभई राजनीतिक र आर्थिक पहल पनि अपरिहार्य हुनेमा जोड दिए ।

 

पूर्व परराष्ट्र सचिव मधुरमण आचार्यले आतंकवादको रूट कजमा जानु जरुरी रहेको बताउँदै आर्थिक सम्पर्क बलियो भए भारत–पाकिस्तानबीचको समस्या पनि न्यून हुन सक्ने धारणा राखे । ‘एक जनाको आतंकवादी अर्काको नजरमा स्वतन्त्रता सेनानी हुन सक्छ’ भन्दै उनले आतंकवादको अन्तर्राष्ट्रिय परिभाषा अस्पष्ट रहेको टिप्पणी गरे ।

 

माओवादी नेता शक्ति बस्नेतले आतंकवाद र आन्तरिक राजनीतिक विद्रोह छुट्याउनुपर्ने र विविधताको सही व्यवस्थापन नगर्दा समस्या बढ्ने भनाइ राखे । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले जुनसुकै प्रकारको आतंकवादको विरोध गर्नुपर्नेमा जोड दिँदै खुला सीमाको दुरुपयोग हुन नदिने सरकारको दायित्व रहेको बताए ।

 

अनुसन्धानकर्ता इन्दिरा अधिकारीले असन्तुष्ट समूहलाई आक्रमक ढंगले दबाउँदा उल्टै आतंकवादका घटना बढ्ने र कतिपय अवस्थामा राज्य स्वयं जिम्मेवार हुने सम्भावना रहने धारणा राखिन् । कांग्रेस नेता मीनेन्द्र रिजालले आतंकवादी घटनाले सार्कजस्ता क्षेत्रीय संगठन प्रभावित हुने उदाहरण दिँदै भारतमाथिका आक्रमणप्रति नेपाल गम्भीर रहनुपर्नेमा जोड दिए । नेपाल–भारतको सम्बन्ध अद्वितीय भएकाले यसमा थप संवेदनशीलता आवश्यक रहेको उनको भनाइ थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button