
सत्येन्द्र प्रताप सिंह
कार्तिक १२ रौतहट
जिल्ला कारागार कार्यालय गौरमा सजाय काटिरहेका एक बन्दीलाई भेट्ने बाहानामा लुकाइछिपाई प्रतिवन्धित लागूऔषध पुर्याउन खोज्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार गौर नगरपालिका वडा नं. ३ स्थित जिल्ला कारागार कार्यालय गौरमा लागूऔषध मुद्दामा थुनामा रहेका बन्दी रुपेश कुमार यादवलाई भेट्न ल्याइएको कपडाको झोला सुरक्षा जाँच गर्ने क्रममा उक्त अवैध लागूऔषध फेला परेको हो।
कारागार सुरक्षामा खटिएको नेपाल प्रहरीको टोलीले नियमित तथा कडा सुरक्षा जाँचका क्रममा सो झोला खानतलासी गरेको थियो। जाँचका दौरान झोलाभित्र कपडासँगै लुकाइछिपाई राखिएको अवस्थामा NITRAZOHM-10 लेखिएको प्रतिवन्धित लागूऔषध ट्याब्लेट १० पिस बरामद गरिएको प्रहरीले जनाए ।
उक्त लागूऔषध सहित पक्राउ पर्नेमा जिल्ला रौतहटको माधवनारायण नगरपालिका वडा नं. ३ बस्ने वर्ष ३० का अनिल कुमार यादव रहेका छन्। कारागारभित्र अवैध पदार्थ छिराउन खोज्ने यादवलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो।
पक्राउ परेका अनिल कुमार यादवलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय रौतहटबाट लागूऔषधसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कानूनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाए । कारागारजस्तो संवेदनशील क्षेत्रमा समेत आपराधिक मनोवृत्तिबाट अवैध वस्तुहरू छिराउने प्रयास हुन थालेपछि सुरक्षाकर्मीहरूले निगरानी थप कडा बनाएका छन्।


