मधेशसमाचार

फेटा गोलीकाण्डका घाइते किशोरलाई हेलिकप्टरबाट काठमाडौं लगियो, घटनाको छानबिन गर्न समिति गठन

बारा, १६ कार्तिक

बाराको फेटा गाउँपालिकामा नवनिर्मित आधारभूत अस्पताल उद्घाटनको विषयलाई लिएर भएको विवादले हिंसात्मक रूप लिएपछि प्रहरीको गोली लागेर घाइते भएका १५ वर्षीय किशोरलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ।

फेटा गाउँपालिका–३ निवासी धर्मेन्द्र पासवानका अन्दाजी १५ वर्षीय छोरा आदित्य पासवानलाई आइतबार वीरगञ्जस्थित नेशनल मेडिकल कलेजबाट काठमाडौं लगिएको हो। घाइते किशोरको स्वास्थ्य अवस्था थप उपचार आवश्यक पर्ने देखिएपछि हेलिकप्टरको व्यवस्था गरिएको जनाइएको छ। उनका बुवा धर्मेन्द्र पासवान पनि छोरासँगै काठमाडौं गएका छन्।

फेटा गाउँपालिका–३ मा निर्माण सम्पन्न भएको १५ शय्याको आधारभूत अस्पताल उद्घाटन गर्ने विषयलाई लिएर शनिबार स्थानीयवासी र सम्बन्धित पक्षबीच विवाद उत्पन्न भएको थियो। अस्पताल सञ्चालनका लागि आवश्यक पूर्वाधार, चिकित्सक, नर्स, शय्या तथा स्वास्थ्य सेवा सुनिश्चित नगरी उद्घाटन गर्न खोजिएको भन्दै स्थानीयले विरोध जनाएका थिए।

विरोध प्रदर्शनका क्रममा दुवै पक्षबीच तनाव बढ्दै गएपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर आदित्य गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि नेशनल मेडिकल कलेज पुर्‍याइएको थियो। चिकित्सकले शल्यक्रिया गरी शरीरमा लागेको गोली निकालेपछि थप उपचारका लागि काठमाडौं रेफर गरेका हुन्।

घटनाले उग्र रूप लिएपछि अस्पताल परिसरमा तोडफोड हुनुका साथै करिब नौवटा मोटरसाइकलमा आगजनी गरिएको थियो। झडपमा पाँच जना प्रहरीसमेत घाइते भएका थिए। घटनापछि फेटा क्षेत्रमा तनाव सिर्जना भएको थियो भने सुरक्षा व्यवस्था कडा पारिएको थियो।

यसैबीच, घटनाको वास्तविकता पत्ता लगाउन मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रभु प्रसाद ढकालको नेतृत्वमा गठित समितिमा प्रहरी उपरीक्षक भुनेश्वर प्रसाद साह र प्रहरी निरीक्षक जटा शंकर यादव सदस्य रहेका छन्। समितिलाई घटनास्थलको स्थलगत निरीक्षण गरी घटनाको कारण, परिस्थितिको विश्लेषण तथा आवश्यक छानबिनसहित प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।

घटनापछि प्रहरी प्रशासनले सुरक्षा व्यवस्थापनमा समेत परिवर्तन गरेको छ। इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक सुमन लामालाई जिम्मेवारीबाट हटाएर जिल्ला प्रहरी कार्यालय बारामा तानिएको छ। उनको स्थानमा प्रहरी निरीक्षक राजाबाबु ठाकुरलाई इलाका प्रहरी कार्यालय प्रसौनीको प्रमुखका रूपमा खटाइएको बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिएका छन्।

सामान्य विरोधबाट सुरु भएको अस्पताल उद्घाटनसम्बन्धी विवाद गोली प्रहार, तोडफोड र आगजनीसम्म पुग्नुले स्थानीय प्रशासनको सुरक्षा व्यवस्थापन तथा अस्पताल सञ्चालनको तयारीमाथि समेत प्रश्न उठाएको छ। अहिले घाइते किशोरको उपचार, घटनाको निष्पक्ष छानबिन र विवादको स्थायी समाधान स्थानीयवासीका प्रमुख चासोका विषय बनेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button