
बारा, कात्तिक १६
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ धर्मनगरमा बाँदर धपाउने क्रममा भरुवा बन्दुक पड्किँदा लागेका छर्राबाट एक जना घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई नाल भरुवा बन्दुकसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार सोमबार साँझ करिब ६ः३५ बजे धर्मनगर निवासी ३० वर्षीय गोविन्द ठाडा मगरले बाँदर धपाउने क्रममा भरुवा बन्दुक पड्काउँदा सोही स्थानका करिब ३२/३३ वर्षीय उत्तम रमौली मगरलाई बन्दुकबाट निस्किएको छर्रा लागेको थियो।
छर्रा लागेर घाइते भएका उत्तमलाई उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा भर्ना गरिएको छ। घटनाबारे साँझ ६ः५० बजे जिल्ला प्रहरी कार्यालय बारामा जानकारी प्राप्त हुनासाथ प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेको कमाण्डमा जिल्ला प्रहरी कार्यालय बाराबाट सात जना, प्रहरी सहायक निरीक्षक सञ्जयकुमार वर्माको कमाण्डमा डुमरवाना प्रहरी पोस्टबाट दुई जना तथा प्रहरी नायब उपरीक्षक दायकृष्ण भट्टको कमाण्डमा इलाका प्रहरी कार्यालय सिमराबाट २२ जनाको टोली घटनास्थल पुगेको थियो।
प्रहरी टोलीले घटनामा संलग्न रहेको आरोपमा गोविन्द ठाडा मगरलाई नियन्त्रणमा लिई दुई नाल भरुवा बन्दुकसमेत बरामद गरेको छ।
पक्राउ परेका मगरमाथि इलाका प्रहरी कार्यालय सिमरा बाराबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिएका छन्।


