मधेशसमाचार

मासु पसलमा प्रशासनको कडा अनुगमन बिलबिनै मासु बिक्री नगर्न र सरसफाइमा ध्यान दिन व्यवसायीलाई निर्देशन

सत्येन्द्र प्रताप सिंह
रौतहट २१ भदौ
​उपभोक्ताको स्वास्थ्य सुरक्षा तथा अधिकारलाई ध्यानमा राख्दै रौतहटमा सञ्चालित मासु पसल तथा मासुजन्य उद्योगहरूमा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा कडा अनुगमन गरिएको छ । शनिबार जिल्लाका विभिन्न प्रमुख बजार तथा ग्रामीण क्षेत्रमा रहेका मासु पसलहरूमा संयुक्त टोलीले आकस्मिक अनुगमन तथा निरीक्षण गरेको हो ।
​जिल्ला प्रशासन कार्यालय रौतहटको नेतृत्वमा खटिएको उक्त टोलीमा घरेलु तथा साना उद्योग कार्यालय, पशु क्वारेन्टाइन कार्यालय, स्थानीय तहका प्रतिनिधि तथा सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । अनुगमनका क्रममा बजारमा बिक्री-वितरणका लागि राखिएका मासुको गुणस्तर भण्डारणको अवस्था सरसफाइ तथा व्यवसायीले पालन गर्नुपर्ने कानुनी मापदण्डहरूको गहन निरीक्षण गरिएको थियो ।
​निरीक्षणका क्रममा टोलीले व्यवसायीहरूलाई मासु बिक्री गर्दा उपभोक्तालाई अनिवार्य रूपमा बिल उपलब्ध गराउन कडा निर्देशन दिएको छ । साथै पसल तथा उद्योग परिसरलाई व्यवस्थित स्वच्छ र दुर्गन्धमुक्त राख्न पशु वध गर्दा स्वास्थ्य परीक्षण गराउन तथा सरकारले तोकेको स्वास्थ्य एवं स्वच्छता सम्बन्धी मापदण्डको पूर्ण पालना गरेर मात्रै मासु बिक्री-वितरण गर्न चेतावनी दिइएको छ ।
​अनुगमन टोलीका प्रतिनिधिहरूका अनुसार अस्वस्थकर र मापदण्डविपरीत मासु बिक्री-वितरण गर्ने कार्यले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष प्रतिकूल असर पार्ने भएकाले यस्तो कदम चालिएको हो । नियम उल्लङ्घन गर्ने वा मापदण्ड पालना नगर्ने व्यवसायीहरूलाई पहिलो चरणमा सचेत गराइएको र आगामी दिनमा सुधार नभए कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ ।
​जिल्ला प्रशासन कार्यालय रौतहटले उपभोक्ता हित संरक्षण र स्वच्छ बजारीकरणका लागि आगामी दिनहरूमा पनि यस्ता अनुगमन कार्यलाई निरन्तरता दिइने जनाए । साथै व्यवसायीहरूलाई नियमको पालना गरी स्वच्छ ताजा र गुणस्तरीय मासु मात्रै बिक्री-वितरण गर्न अनुगमन टोलीले आग्रह गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button