मधेशसमाचार

क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोप, गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षकसहित ८ जना पक्राउ

वीरगंज, २१ भदौ

पर्साको वीरगंज मा नेपाली नागरिकलाई क्यासिनो प्रवेश गराई जुवा खेलाएको आरोपमा निर्वाचित जनप्रतिनिधि, प्रहरी निरीक्षकसहित आठ जना पक्राउ परेका छन्।

वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिङ्गर गेमिङ जोन प्रालिमा नेपाली नागरिक जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले निगरानी तथा अनुसन्धान गरेपछि उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार भदौ २० गते राति करिब साढे १० बजे प्राप्त सूचनापछि खटिएको प्रहरी टोलीले क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा चार जना नेपाली नागरिकलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिका–६ का ३६ वर्षीय जसवन्त यादव, सोही स्थानका ३० वर्षीय चन्दन सहनी, वीरगञ्ज–११ का ३१ वर्षीय ओमप्रकाश बैठा र स्याङ्जाको हरिनास गाउँपालिका–७ का ३६ वर्षीय प्रदीप पौडेल छन्।
पक्राउ परेका यादव नेकपा (एमाले)बाट निर्वाचित सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष हुन् भने पौडेल इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक हुन्।
प्रहरीले नेपाली नागरिकलाई क्यासिनो प्रवेश गराई जुवा खेलाउन संलग्न रहेको आरोपमा क्यासिनोका चार कर्मचारीलाई समेत पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा वीरगञ्ज–१४ का २८ वर्षीय विजय कुमार पटेल, वीरगञ्ज–२५ का ३१ वर्षीय दिनेश कुमार पटेल, महोत्तरीको पिपरा गाउँपालिका–५ घर भई हाल क्यासिनोमा कार्यरत ४९ वर्षीय जयदेव साह र वीरगञ्ज–१२ का ५० वर्षीय प्रदेसी साह रहेका छन्।
नेपालमा नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न कानुनी प्रतिबन्ध रहेको अवस्थामा गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षकसमेत क्यासिनोमा फेला पर्नुलाई प्रहरीले गम्भीर रूपमा लिएको जनाएको छ।
पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको र अनुसन्धानपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। घटनाले जनप्रतिनिधि र सुरक्षा निकायका जिम्मेवार अधिकारीको क्यासिनो उपस्थितिलाई समेत प्रश्नको घेरामा ल्याएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button