मधेशसमाचार

पर्सागढीबाट हत्कडीसहित काठ तस्कर फरार

हरिकिशोर शर्मा

पर्सा , २३ भदौ

पर्साको पर्सागढी नगरपालिका–२ हरपुर गोडपसरा जाने जिरात सडकबाट प्रहरीले पक्राउ गरेको काठ तस्कर हत्कडीसहित फरार भएका छन्।
प्रहरीका अनुसार सोमबार बिहान करिब ५ बजे जिरात क्षेत्रमा साइकलमा करिब १० थान काठ ल्याउँदै गरेका व्यक्तिहरूमध्ये एक जनालाई मनवाबाट खटिएको प्रहरी टोलीले काठ र साइकलसहित नियन्त्रणमा लिएको थियो। सो क्रममा संलग्न अन्य व्यक्तिहरू भने फरार भएका थिए।
पक्राउ परेका व्यक्तिलाई प्रहरीले हत्कडी लगाएर काठ बरामद गरिएको स्थानमा राखेको थियो। बरामद काठ प्रहरी चौकी लैजान ट्याक्टरमा लोड गर्ने क्रममा प्रहरीको आँखा छलेर उनी हत्कडीसहित फरार भएको प्रहरीले जनाएको छ।
फरार व्यक्तिको खोजीका लागि जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका विभिन्न प्रहरी टोली परिचालन गरिएको छ। प्रहरीले सम्भावित स्थानमा खोजी कार्य तीव्र बनाएको जनाएको छ।
यस घटनाले प्रहरीको सुरक्षा व्यवस्थापन र पक्राउ परेका व्यक्तिमाथिको निगरानीमा प्रश्न उठाएको छ। स्थानीयका अनुसार केही महिनाअघि मात्रै बडनिहार प्रहरी चौकीबाट पनि एक जना काठ तस्कर हत्कडीसहित फरार भएका थिए। उक्त घटना सेलाउन नपाउँदै मनवा क्षेत्रमा पुनः यस्तै घटना भएपछि प्रहरीको लापरबाहीप्रति स्थानीयले असन्तुष्टि जनाएका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button