
मेवालाल यादव
रौतहट , २८ भदौ
रौतहटको सदरमुकाम गौरस्थित घण्टाघर क्षेत्रमा लामो समयदेखि जोखिमयुक्त अवस्थामा रहेको पुरानो विद्युत पोल हटाएर नयाँ पोल जडान गरिएको छ। जीर्ण तथा अलपत्र अवस्थामा रहेको पोलका कारण दुर्घटनाको जोखिम बढ्दै गएपछि नयाँ विद्युत पोल जडान गरिएको हो।
नेपाल विद्युत प्राधिकरण गौर वितरण केन्द्रका प्रमुख धीरेन्द्र यादवको समन्वय तथा श्री दुर्गा पूजा समितिका अध्यक्ष एवं समाजसेवी देवी अधिकारीको विशेष पहलमा नयाँ विद्युत पोल जडान गरिएको जनाइएको छ।
लामो समयदेखि जीर्ण अवस्थामा रहेको विद्युत पोलका कारण घण्टाघर क्षेत्रमा आवतजावत गर्ने सर्वसाधारण तथा स्थानीयवासी जोखिममा थिए। पोल जुनसुकै बेला ढल्न सक्ने अवस्थासँगै विद्युतसम्बन्धी दुर्घटनाको सम्भावना समेत रहेको भन्दै स्थानीयले यसको व्यवस्थापन गर्न माग गर्दै आएका थिए।
स्थानीयको समस्यालाई ध्यानमा राख्दै समाजसेवी अधिकारीले सम्बन्धित निकायसँग समन्वय गरी पोल हटाउन पहल गरेपछि प्राधिकरणको प्राविधिक टोलीले नयाँ पोल जडान गरेको हो।
नयाँ पोल जडान भएपछि घण्टाघर क्षेत्रमा रहेको सम्भावित दुर्घटनाको जोखिम कम भएको भन्दै स्थानीयवासीले राहत महसुस गरेका छन्। स्थानीयका समस्या समाधानका लागि निरन्तर पहल गर्दै आएका अधिकारीको यस कार्यको स्थानीयले प्रशंसा गरेका छन्।
स्थानीयवासीले सार्वजनिक स्थलमा रहेका जीर्ण विद्युत संरचनाको नियमित निरीक्षण तथा समयमै मर्मतसम्भार र प्रतिस्थापन गर्न सम्बन्धित निकायसँग आग्रहसमेत गरेका छन्।



