
बारा, २८ भदौ
फेटा गाउँपालिका–१ स्थित रजवटिया टोलमा रजवटिया प्रिमियर लिग (आरपीएल) को सिजन–२ सुरु भएको छ । स्थानीय युवाहरूमा खेलकुदप्रतिको आकर्षण बढाउने तथा प्रतिभावान खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन फेटा गाउँपालिका–१ का युवा नेता मोहन दासले गरेका हुन् । उद्घाटनपछि उनले खेलाडीहरूसँग परिचय गर्दै खेलको सुरुवात गराएका थिए ।
आयोजकका अनुसार फेटा गाउँपालिका अध्यक्ष पदका भावी उम्मेदवार तथा जनमत पार्टीका केन्द्रीय सदस्य उमेश दुबेको सहयोगमा प्रतियोगिता सञ्चालनमा आएको हो । दुबे हाल बाहिर रहेका कारण उनको प्रतिनिधिका रूपमा प्रतियोगिताको उद्घाटन गर्न पाउँदा आफू खुसी भएको युवा नेता दासले बताए ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै दासले खेलाडीहरूलाई कुनै पनि अवस्थामा निराश नभई आफ्नो खेल र प्रतिभामा ध्यान केन्द्रित गर्न आग्रह गरे । खेलकुदले युवाहरूलाई अनुशासन, आत्मविश्वास र सकारात्मक सोच विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उनले स्थानीय स्तरमा हुने यस्ता प्रतियोगिताले नयाँ प्रतिभाको पहिचान गर्न सहयोग पुग्ने बताए ।
उनले रजवटिया टोलका युवामात्र नभई समग्र फेटा गाउँपालिकाका युवाहरूको मन–मनमा उमेश दुबे रहेको दाबी गर्दै युवाको क्षमता र प्रतिभालाई प्रोत्साहन गर्ने कार्यमा सबैको साथ आवश्यक रहेको बताए ।
प्रतियोगितामा सहभागी खेलाडीहरूलाई शुभकामना दिँदै दासले हार–जीतलाई भन्दा पनि खेल भावना र अनुशासनलाई प्राथमिकता दिन आग्रह गरे । स्थानीयस्तरमा खेलकुदको वातावरण निर्माण गर्न निरन्तर सहयोग र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।
प्रतियोगिता सुरु भएसँगै रजवटिया टोलमा खेलप्रेमी तथा स्थानीय युवाहरूको उत्साहसमेत बढेको छ । आयोजकले प्रतियोगिता सफल बनाउन स्थानीय समुदाय, खेलाडी तथा शुभेच्छुक सबैसँग सहयोग र सहभागिताका लागि आग्रह गरेको छ ।



