मधेशसमाचार

बारामा २१ जातीय संस्थाको सहभागितामा ‘जातीय सेवा महासंघ’ गठन

बारा, २८ भदौ
बारामा विभिन्न जातीय संघ–संस्था तथा समाजको सहभागितामा ‘जातीय सेवा महासंघ, बारा’ गठन गरिएको छ। जिल्लामा रहेका विभिन्न जातीय समुदायबीच आपसी समन्वय, सद्भाव, सहअस्तित्व र एकता कायम गर्दै सामाजिक, सांस्कृतिक तथा धार्मिक विविधताको संरक्षण र समुदायका साझा समस्या समाधान गर्ने उद्देश्यले महासंघ गठन गरिएको हो।
शनिबार कलैया उपमहानगरपालिका–६ स्थित गोपाल सेवा समितिको सभाकक्षमा विभिन्न जातीय संघ–संस्था तथा समाजका प्रतिनिधिहरूको बैठक बसेको थियो। बैठकले स्थानीय तहदेखि वडा तथा जिल्ला स्तरसम्म जातीय समुदायले भोग्दै आएका सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक तथा विकाससम्बन्धी समस्याको समाधानका लागि साझा पहल आवश्यक रहेको निष्कर्ष निकालेको थियो।
बैठकले जातीय समुदायको हक, अधिकार र पहिचानको संरक्षणसँगै सामाजिक सद्भाव कायम गर्ने, जातीय तथा सांस्कृतिक विविधताको सम्मान गर्ने र समुदायको विकासमा सहकार्य गर्ने उद्देश्यले २१ सदस्यीय तदर्थ ‘जातीय सेवा महासंघ, बारा’ गठन गर्ने निर्णय गरेको हो।
बैठकमा ब्राह्मण समाज नेपाल, गोपाल सेवा समिति, कुर्मी कल्याण समाज, नेपाल दलित हितैषी समिति, बौद्ध तथा विभिन्न जातीय सेवा एवं सामाजिक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। महासंघमा जिल्लाका विभिन्न जातीय समुदाय तथा सामाजिक संस्थालाई समेटिएको जनाइएको छ।
बैठकमा सहभागी प्रतिनिधिहरूले जातीय पहिचान र संस्कृतिको संरक्षणसँगै सामाजिक एकता बलियो बनाउन सामूहिक पहल आवश्यक रहेको बताएका थिए। उनीहरूले जातीय समुदायका समस्या सम्बन्धित निकायसम्म पुर्‍याउने, सामाजिक विभेद न्यूनीकरण गर्ने तथा राज्यका विभिन्न तहमा समुदायको उचित प्रतिनिधित्व र पहुँचका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
महासंघको तदर्थ समितिको अध्यक्षमा ब्राह्मण समाज बाराको अध्यक्ष अनिलकुमार पाण्डेय र महासचिवमा सोनार समाजका राजकुमार साह चयन भएका छन्। त्यस्तै सह-अध्यक्षमा गोपाल सेवा समितिका धुरुप राउत अहिले , उपाध्यक्षमा कलवार कल्याण समाजका बैधनाथ साह र कुशवाहा कल्याण समाजका चन्द्रदेव प्रसाद कुशवाहा लगायतका बिभिन्न जातिय सँगठनका प्रतिनिधिहरु तसर्थ समितिको पदाधिकारीमा चयन भएका छन्। समितिमा जिल्लाका विभिन्न जातीय तथा सामाजिक संस्थाका प्रतिनिधिहरूलाई समेटिएको छ।
नवनिर्वाचित पदाधिकारीहरूले महासंघलाई कुनै एक जाति वा समुदायको मात्र नभई जिल्लाका विभिन्न जातीय समुदायबीच समन्वय र सहकार्य गर्ने साझा मञ्चका रूपमा अघि बढाउने बताएका छन्। महासंघले आगामी दिनमा जातीय, भाषिक, धार्मिक तथा सांस्कृतिक विविधतालाई सम्मान गर्दै सामाजिक सद्भाव र समावेशी विकासका क्षेत्रमा काम गर्ने जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button