मधेशसमाचार

बारामा एउटै परिवारका तीन बालबालिका बेपत्ता

बारा, २८ भदौ

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५ बकुलिया टोलबाट एउटै परिवारका तीन बालबालिका हराएका छन्। भारत घर भई हाल बकुलिया टोलमा बस्दै आएका मुकेश पासवानका ५ देखि १० वर्ष उमेर समूहका तीन छोराछोरी हराएपछि परिवारले खोजीका लागि प्रहरीसँग सहयोग मागेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आईतबार बिहान करिब ५ बजेको समयमा उनीहरू घरबाट हराएका हुन्। हराउनेमा १० वर्षीय काजल पासवान, ७ वर्षीया सुन्दरी पासवान र ५ वर्षीय धिरज पासवान रहेका छन्।
प्रहरीका अनुसार १० वर्षीय काजल पासवानको वर्ण गहुँगोरो रहेको छ। उनले सेतो सर्ट र कालो पाइन्ट लगाएका छन् भने कालो कपाल र कालो चप्पल लगाएको अवस्थामा हराएकी हुन्।
त्यस्तै, ७ वर्षीया सुन्दरी पासवान गहुँगोरो वर्णकी रहेकी छन्। उनले सेतो सर्ट, कालो पाइन्ट र कालो चप्पल लगाएकी छन्। उनको कपाल कालो रहेको प्रहरीले जनाएको छ।
५ वर्षीय धिरज पासवानको वर्ण पनि गहुँगोरो रहेको छ। उनले खैरो रङको जिन्स पाइन्ट र पहेँलो सर्ट लगाएका थिए। उनको कपाल कालो र ठूलो रहेको तथा हराउँदा चप्पल नलगाएको प्रहरीले जनाएको छ।
तीनै बालबालिका एकैपटक हराएपछि परिवारजन चिन्तित बनेका छन्। सम्भावित स्थानमा खोजी गर्नुका साथै प्रहरीले उनीहरूको अवस्थाबारे जानकारी संकलन गरिरहेको जनाएको छ।
प्रहरीले बालबालिकाको हुलिया तथा पहिचानसँग मिल्ने व्यक्तिलाई कतै देखेमा वा उनीहरूबारे कुनै जानकारी प्राप्त भएमा तत्काल प्रहरीलाई खबर गर्न अनुरोध गरेको छ। सूचना प्राप्त भएमा जिल्ला प्रहरी कार्यालय बाराको ९८५५०४८१०१ वा ९८५५०४५१०१ नम्बरमा सम्पर्क गर्न सकिनेछ। साथै नजिकको प्रहरी कार्यालयमा समेत जानकारी गराउन प्रहरीले आग्रह गरेको छ।
बालबालिकाको सुरक्षा र खोजी कार्यमा सहयोग पुर्‍याउन प्रहरीले स्थानीय बासिन्दा तथा सर्वसाधारणलाई समेत अपिल गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button