कलैया, ०९ असोज
भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन सहयोग गरेको आरोपमा पक्राउ परेका दुई महिलामाथि सरकारी वकिलको कार्यालय बाराले फरक कानुनी दफा लगाएर धरौटीमा छाडेको भन्दै जाहेरवालाले गम्भीर आपत्ति जनाएका छन्।
कलैया उपमहानगरपालिका–९ रामपुरका अलफाजले बिहीबार कलैयास्थित सरकारी वकिलको कार्यालय परिसरमै पत्रकार सम्मेलन गरी नागरिकता सम्बन्धी कसुरमा पक्राउ परेकामाथि अभियोजन गर्दा लागू हुनुपर्ने दफा परिवर्तन गरिएको आरोप लगाएका हुन्।
जाहेरवालाका अनुसार कलैया–९ रामपुरका शेख वोवाजिल मियाँ र सफिकन खातुनका छोरा शेख कालिमले जिल्ला प्रशासन कार्यालय, बारा, कलैयाबाट २०५७ साल कात्तिक २४ गते ना.प्र.नं. ३०२७/३११० को नेपाली नागरिकता लिएका छन्। तर, कालिम नेपाली नागरिक नभई भारतीय नागरिक रहेको दाबी जाहेरवालाले गरेका छन्।
यही विषयमा अनुसन्धानका क्रममा शेख कालिमलाई नागरिकता सम्बन्धी कसुरमा पक्राउ गरी पुर्पक्षका लागि कारागार पठाइएको छ। कालिमलाई नेपाली नागरिकता प्राप्त गर्न सहयोग गरेको आरोपमा उनकी श्रीमती सलमा बेगम र शेख वोवाजिल मियाँकी श्रीमती सफिकन खातुनसमेत पक्राउ परेका थिए।
जाहेरवालाको आरोप भने उनीहरूलाई कानुनले तोकेको कसुरअनुसार अभियोजन नगरी फरक दफा लगाएर धरौटीमा छाडिएको भन्ने छ। अलफाजले नागरिकता ऐन, २०६३ को दफा २१(२) बमोजिमको कसुरमा सजायको मागदाबी हुनुपर्नेमा अभियोजनकै क्रममा दफा परिवर्तन गरिएको दाबी गरेका छन्।
उनका अनुसार अनुसन्धानका क्रममा विभिन्न व्यक्तिका बयान, नेपाली नागरिकताको प्रमाणपत्र, भारतीय आधार कार्ड, मृत्यु दर्ता प्रमाणपत्रलगायतका कागजातसमेत संलग्न गरिएका छन्। ती कागजात र बयानका आधारमा नागरिकता प्राप्त गर्ने व्यक्ति तथा सहयोग गर्ने भनिएका व्यक्तिमाथि नागरिकता सम्बन्धी कानुनअनुसार निष्पक्ष अनुसन्धान र कारबाही हुनुपर्ने उनको माग छ।
पत्रकार सम्मेलनमा अलफाजले भने, “नागरिकता जस्तो संवेदनशील विषयमा कसुरअनुसारको कानुनी दफा प्रयोग हुनुपर्छ। अनुसन्धान र अभियोजनका क्रममा दफा परिवर्तन गरेर आरोपितलाई धरौटीमा छाड्ने अवस्था आएको भए त्यसबारे सम्बन्धित निकायले स्पष्ट पार्नुपर्छ।”
यता सरकारी वकिलको कार्यालय बाराका सरकारी वकिल शम्भुकुमार बस्नेतले भने शेख कालिम नेपाली नागरिकता लिएको विषयमा पुर्पक्षका लागि कारागार चलान भएको जानकारी दिएका छन्।
बस्नेतका अनुसार नागरिकता प्राप्त गर्न आवश्यक सहयोग गरेको आरोप लागेका व्यक्तिमाथि प्रचलित नेपाली कानुनअनुसार नै दफा लगाइएको हो। उनले आरोपित व्यक्तिमाथि अनुसन्धान गर्दा उपलब्ध प्रमाण र कानुनी व्यवस्थाका आधारमा अभियोजन गरिएको स्पष्ट पारे।
साथै कालिम नेपाली र भारतीय दुवै देशको नागरिक भएको वा दोहोरो नागरिकता लिएको सम्बन्धमा थप अनुसन्धान आवश्यक देखिएमा त्यस विषयमा छुट्टै प्रक्रिया अघि बढाउन सकिने सरकारी वकिल बस्नेतले बताएका छन्। उनले दोहोरो नागरिकता सम्बन्धी विषयमा जिल्ला हुलाकमार्फत सम्बन्धित निकायमा उजुरी दिनसमेत आग्रह गरेका छन्।
नागरिकता ऐनअन्तर्गतको कसुरमा अनुसन्धान र अभियोजनको प्रक्रिया अघि बढिरहेका बेला जाहेरवालाले नै सरकारी वकिलको कार्यालयको अभियोजनमाथि प्रश्न उठाएपछि घटनाले थप कानुनी बहस निम्त्याएको छ। अब आरोपितमाथि लगाइएको दफा, अनुसन्धानबाट संकलित प्रमाण र त्यसका आधारमा गरिएको अभियोजन कानुनसम्मत भए–नभएको विषय थप स्पष्ट हुनुपर्ने देखिएको छ।


