मधेशसमाचार

हाम फालेर बेपत्ता भएका यादवको शव लालबकैया किनारमा फेला

सत्येन्द्र प्रताप सिंह
 रौतहट , ११ असोज
​रौतहटको मौलापुरस्थित लालबकैया नदीको पुलबाट हाम फालेर बेपत्ता भएका बारा जिल्लाका २५ वर्षीय सचिन्द्र यादवको शव २४ घण्टापछि भेटिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले शनिबार दिउँसो ३ बजे राजपुर क्षेत्रबाट उनको शव फेला पारेको हो।
​इलाका प्रहरी कार्यालय मौलापुर र देवाही गोनाहीबाट खटिएको नेपाल प्रहरीको टोली तथा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन (डिएम) टोलीका प्रमुख रविन थापाको कमाण्डमा संयुक्त खोजी अभियान सञ्चालन गरिएको थियो। खोजतलासका क्रममा राजपुर नगरपालिका–२ स्थित हजमिनीया टोलभन्दा पश्चिममा रहेको झुलुङे पुल नजिकै लालबकैया नदी किनारमा यादवको शव अड्किएको अवस्थामा फेला परेको हो।
​इलाका प्रहरी कार्यालय मौलापुरका प्रहरी निरीक्षक भरत केसीका अनुसार घटनालगत्तै खटिएको सुरक्षाकर्मीको टोलीले नदीको तीव्र बहावका बाबजुद सम्भावित जोखिमयुक्त क्षेत्रहरूमा निरन्तर खोजी कार्य जारी राखेको थियो।
​बाराको सिम्रौनगढ नगरपालिका–११ कटहरिया घर भएका यादव शुक्रबार आफ्ना दाजु सिकिन्द्र यादवसँग उपचारका लागि रौतहटको गरुडातर्फ जाँदै थिए। मोटरसाइकलमा यात्रा गरिरहेका उनी मौलापुर नगरपालिका–४ स्थित लालबकैया नदीको पुलमा पुगेपछि एक्कासि मोटरसाइकल रोक्न लगाएर नदीमा हाम फालेका थिए।
​पारिवारिक स्रोतका अनुसार मृतक यादव विगत केही समयदेखि मानसिक अस्वस्थताबाट गुज्रिरहेका थिए। दाजुसँग अस्पताल जाने क्रममा पुलमा पुगेपछि अप्रत्याशित रूपमा नदीमा फाल हानेका उनी तीव्र बहावका कारण क्षणभरमै बेपत्ता भएका थिए।
​शव भेटिएलगत्तै प्रहरी निरीक्षक भरत केसीको नेतृत्वमा पुगेको टोलीले घटनास्थलको स्थलगत निरीक्षण गरी कानूनी मुचुल्का तयार पारेको छ। मृतकको शवलाई परीक्षण (पोस्टमार्टम) का लागि जिल्ला अस्पताल गौरतर्फ पठाउने तयारी भइरहेको प्रहरीले जनाए ।
​अचानक पुलबाट हाम फाल्नुको विस्तृत कारणबारे अध्ययन भइरहेको छ। घटनाको प्रकृति पारिवारिक पृष्ठभूमि र सम्भावित अन्य कारणहरूबारे सूक्ष्म अनुसन्धान भइरहेको र पोष्टमार्टम रिपोर्ट आएपछि थप तथ्य बाहिर आउने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button