मधेशसमाचार

पचरौतामा खाता सञ्चालनमा ‘जिद्दी’ : उपसचिवलाई जुनियर कर्मचारीसँग काम गर्न दबाब

बारा , २२ असोज

पचरौता नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिबीचको विवादका कारण नगरपालिकाको बजेट खाता सञ्चालनमै समस्या देखिएको छ। प्रमुख प्रशासकीय अधिकृतका रूपमा उपसचिव प्रदर्शनी कुमारी हाजिर भइसकेकी छन् भने लेखा अधिकृतका रूपमा प्रदेश लोक सेवा आयोगबाट सिफारिस भएकी सातौं तहकी प्रतिभा कुमारी यादवसमेत कार्यालयमा हाजिर भइसकेकी छन्। तर, जनप्रतिनिधिहरूले सातौं तहकी लेखा अधिकृतसँग खाता सञ्चालन गर्न नदिई छैठौं तहका पुरानै कर्मचारीसँग खाता सञ्चालन गर्न दबाब दिएको प्रमुख प्रशासकीय अधिकृत प्रदर्शनी कुमारीले बताएकी छन्।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भदौ १ गतेको निर्णयअनुसार उपसचिव प्रदर्शनी कुमारीलाई पचरौता नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएको थियो। सोही निर्णयअनुसार उनी असोज १२ गते नगरपालिकामा हाजिर भई जिम्मेवारी सम्हालेकी हुन्।
त्यस्तै, प्रदेश लोक सेवा आयोगले असोज ६ गते लेखा समूहअन्तर्गत अधिकृत सातौं तहमा प्रतिभा कुमारी यादवलाई पचरौता नगरपालिकाका लागि सिफारिस गरेको थियो। आयोगको सिफारिसअनुसार यादवसमेत नगरपालिकामा हाजिर भइसकेकी छन्।
तर, दुईजना सम्बन्धित तहका अधिकारी कार्यालयमा उपस्थित हुँदासमेत नगरपालिकाको बजेट खाता सञ्चालन हुन सकेको छैन।
प्रमुख प्रशासकीय अधिकृत प्रदर्शनी कुमारीका अनुसार नगरपालिकाका जनप्रतिनिधिहरूले आफूसँग सातौं तहकी लेखा अधिकृत प्रतिभा कुमारी यादवलाई नराखी यसअघि नगरपालिकामा कार्यरत लेखा शाखाका छैठौं तहका कर्मचारी हासिम मियाँ अँसारीसँग मिलेर बजेट खाता सञ्चालन गर्न दबाब दिइरहेका छन्।
‘लेखा अधिकृतको रूपमा सातौं तहकी कर्मचारी हाजिर भइसकेकी छन्। यस्तो अवस्थामा जुनियर कर्मचारीसँग बजेट खाता सञ्चालन गर्न दबाब दिइएको छ,’ प्रमुख प्रशासकीय अधिकृत प्रदर्शनी कुमारीले यस दैनिकसँग भनिन्, ‘मैले सम्बन्धित तहका कर्मचारीसँगै खाता सञ्चालन गर्नुपर्ने अडान राखेकी छु।’
उनका अनुसार सातौं तहकी लेखा अधिकृत कार्यालयमा हाजिर भइसकेपछि पनि छैठौं तहका कर्मचारीसँगै खाता सञ्चालन गर्न खोजिएपछि आफूले त्यसमा सहमति जनाएकी छैनन्। यही विवादका कारण हालसम्म नगरपालिकाको बजेट खाता सञ्चालनमा आउन नसकेको उनको भनाइ छ।
जनप्रतिनिधिको दबाबले प्रशासनिक प्रणालीमै प्रश्न
नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा उपसचिव र लेखा अधिकृतका रूपमा सातौं तहका कर्मचारी उपस्थित हुँदाहुँदै उनीहरूलाई जिम्मेवारीअनुसार काम गर्न नदिई आफूअनुकूल कर्मचारीमार्फत खाता सञ्चालन गराउन खोजिएको आरोपले स्थानीय तहको प्रशासनिक व्यवस्थामाथि नै प्रश्न उठाएको छ।
कर्मचारीको पद, तह र जिम्मेवारीलाई बेवास्ता गर्दै जनप्रतिनिधिले प्रशासनिक काममा दबाब दिने प्रवृत्ति बढ्दै गएमा त्यसले स्थानीय तहको वित्तीय अनुशासन तथा प्रशासनिक स्वायत्ततामाथि गम्भीर असर पार्ने देखिन्छ।
विशेषगरी बजेट तथा बैंक खाता सञ्चालनजस्तो संवेदनशील विषयमा सम्बन्धित पदाधिकारीको जिम्मेवारी र प्रचलित व्यवस्थालाई बेवास्ता गरी दबाब दिन खोजिनु सामान्य प्रशासनिक विवाद मात्र नभई आर्थिक अनुशासनसँग जोडिएको विषय बन्न सक्छ।
प्रमुख प्रशासकीय अधिकृतलाई सवारीसाधनसमेत छैन
पचरौता नगरपालिकामा जिम्मेवारी सम्हालेकी प्रमुख प्रशासकीय अधिकृत प्रदर्शनी कुमारीले आफूलाई कार्यालयबाट सवारीसाधनसमेत उपलब्ध नगराइएको बताएकी छन्।
उनका अनुसार कार्यालयीय कामका लागि आवश्यक पर्ने सवारीसाधन नगरपालिकाले उपलब्ध नगराएपछि आफूले भाडाको सवारीसाधन प्रयोग गर्दै आएको बताइन्।
एकातर्फ प्रमुख प्रशासकीय अधिकृतलाई आवश्यक प्रशासनिक सहयोग उपलब्ध नगराइएको गुनासो छ भने अर्कोतर्फ बजेट खाता सञ्चालनका विषयमा समेत विवाद चर्किएको छ। यसले पचरौता नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीबीचको समन्वय कमजोर रहेको संकेत गरेको छ।
खाता नचल्दा विकास र सेवा प्रवाह प्रभावित हुने जोखिम
बजेट खाता सञ्चालन हुन नसक्दा नगरपालिकाको नियमित आर्थिक कारोबार, योजना कार्यान्वयन, भुक्तानी तथा कर्मचारी र सेवाप्रवाहसँग सम्बन्धित आर्थिक गतिविधि प्रभावित हुने जोखिम बढेको छ।
चाडपर्वको समयमा स्थानीय तहका नागरिकलाई सेवा प्रवाह गर्नुपर्ने तथा विकास निर्माणका कामलाई गति दिनुपर्ने अवस्थामा पदाधिकारीबीचको विवादकै कारण नगरपालिकाको वित्तीय कारोबार अवरुद्ध हुनु गम्भीर विषय हो।
पचरौताको समस्या तत्काल समाधान नगर्ने हो भने यसको प्रत्यक्ष असर नगरपालिकाको दैनिक प्रशासन, विकास योजना र सेवाग्राहीमाथि पर्ने देखिन्छ। सम्बन्धित मन्त्रालय तथा प्रदेशका निकायले समेत विवादको वास्तविकता छानबिन गरी पद, तह र जिम्मेवारीअनुसार काम गर्ने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता देखिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button