
बारा, २२ असोज
बाराको निजगढ नगरपालिका–१२ रामथलीमा श्रीमान्को कुटपिटबाट घाइते भएकी एक महिलाको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका श्रीमान्लाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
मृत्यु हुनेमा ४७ वर्षीया सुकुमाया मोक्तान रहेकी छन्। उनलाई उनका ५५ वर्षीय श्रीमान् विजय मोक्तानले घरायसी विवादका क्रममा लहराको टुक्राले कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
कुटपिटबाट सामान्य घाइते भएकी सुकुमायाको स्थानीय मेडिकलबाट चिकित्सक बोलाएर घरमै जाँच तथा औषधि उपचार गरिएको थियो। उपचारपछि उनी घरमै रहेकी थिइन्। त्यसै दिन राति खाना खाएर सुतेकी सुकुमायालाई भोलिपल्ट बिहीबार बिहान करिब ४ बजे उनका श्रीमान् विजयले उठाउन खोज्दा नउठेपछि मृत्यु भइसकेको थाहा भएको प्रहरीले जनाएको छ।
घटनाबारे बिहान करिब ६ः४० बजे अस्थायी प्रहरी पोष्ट रतनपुरमा जानकारी गराइएको थियो। सूचना प्राप्त हुनासाथ रतनपुर प्रहरी पोष्ट तथा इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरी सुकुमायाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाएको छ।
घटनापछि प्रहरीले विजय मोक्तानलाई नियन्त्रणमा लिएको छ। उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पोस्टमार्टम रिपोर्ट तथा थप अनुसन्धानबाट मृत्युको कारण र घटनाको विस्तृत तथ्य खुल्ने प्रहरीले जनाएको छ।


