
पर्सा , २२ असोज
कानुनी व्यवस्थाअनुसार चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम असार १० गतेभित्र गाउँसभाबाट पारित गरिसक्नुपर्ने भए पनि पर्साको पकाहाँ मैनपुर गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ को गाउँसभा निर्धारित समयमा सम्पन्न हुन सकेको थिएन। लामो समयदेखि रोकिएको गाउँसभा नयाँ प्रमुख प्रशासकीय अधिकृत सुमित कुमार सिंहको सक्रियता र प्रशासनिक समन्वयपछि बिहीबार सम्पन्न भएको छ।
गत असोज १४ गते गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा हाजिर भएका सिंहले कार्यभार सम्हालेपछि गाउँसभालाई प्राथमिकतामा राख्दै जनप्रतिनिधि, कर्मचारी तथा सम्बन्धित पक्षबीच आवश्यक समन्वय र सहजीकरण गरेका थिए। उनको पहलपछि गाउँपालिकाको १५औँ गाउँसभा सम्पन्न भई चालु आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक गरिएको हो।
गाउँसभाबाट आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ३६ करोड ३० लाख २७ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको छ। जसमा चालुतर्फ २४ करोड ३५ लाख ८२ हजार रुपैयाँ र पुँजीगततर्फ ११ करोड ९४ लाख ४५ हजार रुपैयाँ विनियोजन गरिएको छ।
लामो समयदेखि गाउँसभा हुन नसक्दा बजेट तथा विकास निर्माणका कार्यक्रम कार्यान्वयनमा समेत अन्योल देखिएको अवस्थामा प्रमुख प्रशासकीय अधिकृत सिंहको प्रशासनिक क्षमता, समन्वयकारी भूमिका र सक्रियताका कारण गाउँसभा सम्पन्न हुन सकेको जनप्रतिनिधि तथा कर्मचारीहरूले बताएका छन्।
गाउँसभा सम्पन्न भएसँगै गाउँपालिकाको नियमित प्रशासनिक तथा विकास गतिविधिलाई थप गति दिन सहज हुने अपेक्षा गरिएको छ। विशेषगरी पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक विकास तथा सेवा प्रवाहसँग सम्बन्धित कार्यक्रम कार्यान्वयनका लागि बजेटको बाटो खुलेको छ।
गाउँपालिका स्रोतका अनुसार निर्धारित समयमा गाउँसभा हुन नसकेको अवस्थामा नयाँ प्रमुख प्रशासकीय अधिकृतले कार्यालयको प्रशासनिक पक्षलाई व्यवस्थित गर्दै जनप्रतिनिधिसँग समन्वय गरेर सभा सञ्चालनका लागि आवश्यक वातावरण तयार गरेका थिए। छोटो समयमै गाउँसभा सम्पन्न गराउन सफल भएको भन्दै सिंहको कार्यशैलीको प्रशंसा गरिएको छ।
गाउँसभा कार्यक्रममा गाउँपालिका अध्यक्ष सुरेश प्रसाद, उपाध्यक्ष सरफुन नेशा, सम्पूर्ण कार्यपालिका सदस्य, वडा अध्यक्ष तथा वडा सदस्यहरूको उपस्थिति रहेको थियो। सभामा आर्थिक वर्ष २०८३/०८४ को बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिकाको आगामी विकास प्राथमिकताबारे समेत छलफल गरिएको थियो।
स्थानीय तहमा बजेट निर्माण तथा कार्यान्वयनका लागि गाउँसभा महत्वपूर्ण संवैधानिक प्रक्रिया भएकाले समयमै सभा सम्पन्न हुन नसक्दा सेवा प्रवाह र विकास गतिविधिमा असर पर्न सक्ने अवस्था थियो। यस्तो परिस्थितिमा प्रमुख प्रशासकीय अधिकृत सिंहले कार्यभार सम्हालेको छोटो समयमै आवश्यक समन्वय गरी गाउँसभा सम्पन्न गराउन सफल भएको विषयलाई सकारात्मक रूपमा हेरिएको छ।
स्थानीयवासीले पनि गाउँसभा सम्पन्न भएसँगै अब बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। बजेट सार्वजनिक हुनु मात्रै पर्याप्त नभई विनियोजित रकम पारदर्शी, मितव्ययी र आवश्यकताका आधारमा खर्च गर्दै विकास निर्माणलाई परिणाममुखी बनाउनुपर्ने उनीहरूको भनाइ छ।
३६ करोड ३० लाख २७ हजार रुपैयाँको बजेट कार्यान्वयनसँगै पकाहाँ मैनपुर गाउँपालिकामा रोकिएका विकास गतिविधिले गति लिने र नागरिकले स्थानीय सरकारबाट पाउने सेवा थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।


