
सत्येन्द्र प्रताप सिंह
असोज २७ रौतहट
जलवायु परिवर्तनका कारण सिर्जित प्राकृतिक तथा मानवीय विपद्को जोखिम न्यूनीकरण, पूर्वतयारी एवम् प्रभावकारी सूचना प्रणालीलाई सुदृढ बनाउने उद्देश्यले रौतहट जिल्लाका तीनवटा स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना तयार गरिएको छ। गौर नगरपालिका, राजपुर नगरपालिका र यमुनामाई गाउँपालिकामा सम्बन्धित पालिकाको विपद् व्यवस्थापन समिति तथा महिला पुनरोत्थान केन्द्र ओरेकको प्राविधिक सहकार्यमा आयोजना गरिएको विशेष गृहकार्य पश्चात् उक्त योजना निर्माण गरिएको हो।
रौतहट क्षेत्रमा वर्षायाममा देखिने बाढी, डुबान, आगलागी, हावाहुरीजस्ता प्राकृतिक विपद्का अतिरिक्त सर्पदंश, वन्यजन्तुको आक्रमण, कृषि क्षेत्रमा विद्युतीय करेन्ट, सडक दुर्घटना तथा सामुदायिक द्वन्द्वजस्ता विभिन्न सम्भावित जोखिमहरूलाई ध्यानमा राख्दै यो योजना तर्जुमा गरिएको बताइएको छ। समुदायस्तरमा समयमै सही र आधिकारिक सूचना प्रवाह गर्ने, जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र सम्भावित मानवीय तथा भौतिक क्षतिलाई न्यूनतम विन्दुमा झार्ने लक्ष्य योजनाले लिएको छ।
नवकिर्मित विपद् जोखिम सञ्चार योजनाले विपद् आउनुपूर्व गरिने पूर्वतयारी विपद्को समयमा द्रुत र प्रभावकारी सूचना आदानप्रदान तथा प्रतिकार्य र विपद्पश्चात् सुरक्षित पुनर्स्थापना एवं पुनरुत्थानका लागि स्थानीय तह स्थानीय समुदाय र सरोकारवाला निकायहरूबीचको समन्वयलाई थप व्यवस्थित र चुस्त बनाउन सहयोग पुर्याउनेछ।
यस योजनाको प्रमुख विशेषता भनेको विपद् जोखिम न्यूनीकरण प्रक्रियालाई लैङ्गिक उत्तरदायी, समावेशी र मानव अधिकारमैत्री बनाउनु हो। योजनामा महिला गर्भवती तथा सुत्केरी, किशोरी, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अन्य सीमान्तकृत एवम् जोखिममा रहेका समुदायको विशेष आवश्यकता र सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको छ। यसका साथै विपद्का बेला हुनसक्ने लैङ्गिक हिंसा यौन दुर्व्यवहारका जोखिम न्यूनीकरण यौन तथा प्रजनन स्वास्थ्य सेवामा पहुँच सुनिश्चितता र आवश्यक संरक्षण सेवासम्बन्धी सूचना प्रवाहलाई योजनामा विशेष स्थान दिइएको छ।
तीनवटै पालिकामा निर्मित विपद् जोखिम सञ्चार योजनाहरू सम्बन्धित पालिकाका विपद् व्यवस्थापन समितिबाट अनुमोदन भई अन्तिम निर्णयका लागि कार्यपालिकामा पेस भइसकेका छन्। योजनालाई स्थानीय कार्यपालिकाबाट स्वीकृत गराई स्थानीय राजपत्रमा प्रकाशन गर्ने प्रक्रिया अघि बढाउने प्रतिबद्धता तीनवटै पालिकाका जनप्रतिनिधिहरूले व्यक्त गरेका छन्। जनप्रतिनिधि विपद् व्यवस्थापन समिति तथा सम्पूर्ण सरोकारवालाहरूप्रति आयोजक तथा प्राविधिक टोलीले हार्दिक धन्यवाद व्यक्त गरेको छ।
तीनवटै पालिकामा विपद् जोखिम सञ्चार योजना निर्माणका लागि प्राविधिक सहजीकरण तथा नेतृत्व ओरेक नेपालकी मधेश प्रदेश संयोजक विणा सिंहले गरेकी थिइन् ।
ओरेक नेपालले यो महत्त्वपूर्ण पहललाई सफल बनाउन समन्वय सहकार्य र प्राविधिक सहयोग पुर्याउने पालिकाका जनप्रतिनिधि, कर्मचारी, विपद् व्यवस्थापन समितिका पदाधिकारी एवं स्थानीय समुदायप्रति आभार प्रकट गरेको छ। स्थानीय तहको नेतृत्व संस्थागत प्रतिबद्धता र समुदायको सक्रिय सहभागितामार्फत यो योजनाको प्रभावकारी कार्यान्वयन हुने, सही सूचना समयमै सर्वसाधारणसम्म पुग्ने र विपद्का कारण हुने सम्भावित क्षति न्यूनीकरणमा उल्लेख्य योगदान पुग्ने विश्वास लिइएको छ।
विपद् जोखिम न्यूनीकरण हामी सबैको साझा जिम्मेवारी भन्ने मूल नाराका साथ तर्जुमा गरिएको यो योजनाले रौतहटका यी पालिकामा उत्थानशील र सुरक्षित समुदाय निर्माणमा महत्त्वपूर्ण इटा थप्ने अपेक्षा गरिएको छ।


