
सत्येन्द्र प्रताप सिंह
रौतहट २८ असोज
आउँदै गरेको महान् चाड बडादशैँको उपलक्ष्यमा रौतहट जिल्लाको यमुनामाई गाउँपालिका–१ सुकदेव चोकस्थित सगरमाथा तराई हस्पिटल प्रा.लि.ले १० दिनसम्म ओपीडी सेवा पूर्ण रूपमा नि:शुल्क प्रदान गर्ने घोषणा गरेको छ।
विगत ७ वर्षदेखि यस क्षेत्रका सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको हस्पिटलले चाडपर्वको अवसरमा जनतालाई राहत तथा सहज स्वास्थ्य पहुँच उपलब्ध गराउने उद्देश्यले उक्त निर्णय गरेको हस्पिटलका सञ्चालक मो. अबुलैसले जानकारी दिए ।
सगरमाथा तराई हस्पिटल प्रा.लि.ले स्वास्थ्य सेवामा आधुनिक प्रविधि र उपकरणको प्रयोगलाई प्राथमिकता दिँदै आएको छ। विभिन्न रोगहरूको पहिचान तथा उपचारका लागि अत्याधुनिक जाँच उपकरण आधुनिक मेसिन तथा प्रविधियुक्त सेवा उपलब्ध गराइएको छ। साथै दक्ष तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूको टोलीबाट नियमित रूपमा बिरामीहरूको उपचार तथा परामर्श सेवा प्रदान हुँदै आएको हस्पिटल प्रशासनले जनाए ।
हस्पिटलले उपचार सेवालाई केवल व्यवसायिक नभई समाजसेवासँग समेत जोडेर अघि बढाएको छ। विशेषगरी असहाय, गरिब, निमुखा तथा आर्थिक रूपमा कमजोर परिवारका बिरामीहरूलाई विशेष छुटको व्यवस्था गर्नुका साथै धेरै अवस्थामा नि:शुल्क उपचार सेवा समेत उपलब्ध गराउँदै आएको सञ्चालक अबुलैसले बताए।
स्थानीय बासिन्दामाझ विश्वासिलो स्वास्थ्य संस्थाको रूपमा परिचित सगरमाथा तराई हस्पिटलले मातृ तथा शिशु स्वास्थ्य, सामान्य तथा विशेषज्ञ स्वास्थ्य सेवा, प्रयोगशाला परीक्षण, स्वास्थ्य परामर्श लगायतका सेवाहरू निरन्तर प्रदान गर्दै आएको छ। दशैँ पर्वको अवसरमा घोषणा गरिएको नि:शुल्क ओपीडी सेवाले यस क्षेत्रका हजारौँ सेवाग्राहीलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।
हस्पिटल प्रशासनले सबै सेवाग्राहीलाई अवसरको सदुपयोग गर्दै समयमै स्वास्थ्य परीक्षण गराउन आग्रह गरेको छ।
विगत ७ वर्षदेखि निरन्तर स्वास्थ्य सेवामा समर्पित हस्पिटलद्वारा आधुनिक उपकरण विशेषज्ञ चिकित्सक र समाजसेवामुखी उपचार सेवामा जोड दिएको छ ।


