बारा, ११ फागुन
बारा क्षेत्र नम्बर ३ को दीर्घकालीन विकासलाई लक्ष्य गर्दै प्रतिनिधिसभा सदस्य उम्मेदवार अरविन्द साहले आफ्नो चुनावी वाचा–पत्र सार्वजनिक गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार रहेका साहले स्थानीय समस्या समाधान र संघीय तहको नीतिगत सुधारलाई एकसाथ अघि बढाउने स्पष्ट खाका प्रस्तुत गरेका हुन्।
वाचा–पत्रमा कृषि, रोजगारी, पूर्वाधार, शिक्षा, स्वास्थ्य र डिजिटल शासनलाई विकासको आधार स्तम्भका रूपमा परिभाषित गरिएको छ। किसानलाई समयमै मल–बिउ उपलब्ध गराउने, सिँचाइ सुविधा विस्तार गर्ने र कृषि उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने नीति अघि सारिएको छ। आधुनिक प्रविधिको प्रयोगमार्फत उत्पादन वृद्धि गरी कृषिलाई नाफामुखी बनाउने योजना पनि समेटिएको छ।
युवा लक्षित कार्यक्रम अन्तर्गत स्वदेशमै रोजगारी सिर्जना गर्न सीपमूलक तालिम, स्टार्टअप सहयोग र साना तथा मझौला उद्यमलाई प्रोत्साहन गर्ने प्रतिवद्धता जनाइएको छ। डिजिटल अर्थतन्त्रलाई प्राथमिकतामा राख्दै वैदेशिक रोजगारीमा निर्भरता घटाउने रणनीति वाचा–पत्रमा उल्लेख गरिएको छ।
पूर्वाधार विकासतर्फ गुणस्तरीय सडक, सुरक्षित खानेपानी, विद्युत् विस्तार तथा स्वास्थ्य र शैक्षिक संस्थाको स्तरोन्नतिलाई प्राथमिकतामा राखिएको छ। संघीय बजेटमार्फत दीर्घकालीन आयोजना सञ्चालन गरी त्यसको पारदर्शी अनुगमन गरिने उल्लेख छ।
त्यसैगरी, डिजिटल शासन प्रणालीमार्फत सरकारी सेवा सरल, छिटो र नागरिकमैत्री बनाउने योजना प्रस्तुत गरिएको छ। अनलाइन सेवा विस्तार र डेटा–आधारित योजना प्रणालीलाई सुशासनको आधारका रूपमा अघि सारिएको छ।
सामाजिक क्षेत्रमा महिला सशक्तीकरण, सामाजिक सुरक्षा, गरिब तथा विपन्न वर्गको जीवनस्तर सुधार, धार्मिक–सांस्कृतिक पर्यटन प्रवर्द्धन तथा जलवायु अनुकूल पूर्वाधार विकासका विषयलाई पनि वाचा–पत्रमा स्थान दिइएको छ।
वाचा–पत्र सार्वजनिक गर्दै साहले राजनीति पद प्राप्तिको माध्यम नभई जिम्मेवारी बोध गर्ने माध्यम भएको उल्लेख गरे। उनले जनताको भरोसालाई केन्द्रमा राख्दै बारा क्षेत्र नम्बर ३लाई दिगो विकासको मार्गमा अघि बढाउने आफ्नो दृढ लक्ष्य रहेको बताएका छन्।