लेखापढी व्यवसायीको अनिश्चितकालीन हड्ताल, पर्साका सरकारी सेवा प्रभावित

पर्सा, २३ चैत

पर्सा जिल्लाका विभिन्न सरकारी कार्यालयमा सेवा दिँदै आएका लेखापढी व्यवसायीहरूले सोमबारदेखि आफ्नो सेवा ठप्प पार्दै आन्दोलन सुरु गरेका छन्।
नयाँ सरकार गठनसँगै प्रहरीले विभिन्न सरकारी कार्यालयहरूमा बिचौलियाको आरोपमा धरपकड सुरु गरेको विरोधमा उनीहरू अनिश्चितकालीन हड्तालमा उत्रिएका हुन्।
गत शुक्रबार पर्साको पोखरिया मालपोत कार्यालयबाट प्रहरीले बिचौलियाको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएपछि व्यवसायीहरू थप आक्रोशित बनेका हुन्।
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन पर्साको आह्वानमा मालपोत, नापी, भूमिसुधार, अदालत तथा जिल्ला प्रशासन कार्यालयमा सेवा दिँदै आएका लेखापढी व्यवसायीहरूले आन्दोलन सुरु गरेका छन्। एसोसिएसन पर्साका अध्यक्ष सुरेन्द्र प्रसाद यादवका अनुसार आइतबार बसेको बैठकको निर्णयअनुसार सरकार र प्रहरी प्रशासनको रवैयाविरुद्ध हड्ताल घोषणा गरिएको हो।
अध्यक्ष यादवले लेखापढी व्यवसायीहरूलाई बिना कारण कार्यालय परिसरभित्र र बाहिरबाट समेत धरपकड गरिएको आरोप लगाए। उनले नेपाल सरकारको नियमअनुसार भु–सेवा केन्द्र सञ्चालन अनुमति लिएर धरौटी बुझाई सेवा सञ्चालन गरिरहेका व्यवसायीहरूमाथि विभिन्न बहाना बनाई गरिएको पक्राउप्रति आपत्ति जनाए।
साथै, विभिन्न जिल्लाबाट पक्राउ गरिएका लेखापढी व्यवसायीहरूलाई तत्काल रिहा गर्न उनले माग गरेका छन्।
उनका अनुसार पर्सा जिल्लामा भु–सेवा केन्द्र सञ्चालनको इजाजतपत्र लिएका १२१ जना तथा लेखापढी व्यवसायीको इजाजतपत्र लिएका ४ सयभन्दा बढी व्यवसायी रहेका छन्।
यस हड्तालका कारण सम्बन्धित सरकारी कार्यालयबाट प्रवाह हुने सेवामा प्रत्यक्ष असर परेको छ।

Comments (0)
Add Comment