निधि आवासबारे भ्रामक समाचारप्रति स्थानीय आक्रोश, जिम्मेवार पत्रकारिताको माग

निधि आवासबारे भ्रामक समाचारप्रति स्थानीय आक्रोश, जिम्मेवार पत्रकारिताको माग

बारा , १८ चैत

बाराको देवताल गाउँपालिका वडा नम्बर १ मा अवस्थित निधि आवास तथा मदन आवास सम्बन्धी भ्रामक र आधारहीन समाचार सार्वजनिक भएपछि स्थानीयवासीहरू आक्रोशित बनेका छन्। समाचारले तथ्यभन्दा बाहिर गएर गलत सन्देश फैलाएको भन्दै स्थानीयहरूले कडा आपत्ति जनाएका छन्।

स्थानीय बासिन्दा रामकृष्ण पाण्डेले उक्त समाचारले गाउँको सामाजिक प्रतिष्ठामा गम्भीर असर पारेको बताएका छन्। उनका अनुसार सम्बन्धित पक्षसँग कुनै समन्वय नगरी र सत्यतथ्य नबुझी समाचार प्रकाशन गरिएकोले पत्रकारिताको मर्म र मर्यादामाथि ठाडो प्रहार भएको छ।

“पत्रकारिता जनताको आवाज बोल्ने माध्यम हो। तर अपुष्ट र भ्रामक समाचार बनाएर कसैको इज्जतमा खेलवाड गर्नु कुनै पनि हालतमा स्वीकार्य हुँदैन,” उनले कडा प्रतिक्रिया दिए।

स्थानीयवासीहरूका अनुसार उक्त समाचारका कारण गाउँमा अनावश्यक भ्रम, तनाव र अविश्वासको वातावरण सिर्जना भएको छ। उनीहरूले यस्ता समाचार तत्काल सच्याउन र जिम्मेवार ढंगले पत्रकारिता गर्न सम्बन्धित सञ्चारमाध्यमसँग माग गरेका छन्।

त्यस्तै, गलत सूचना सम्प्रेषण गर्नेहरूमाथि आवश्यक छानबिन गरी कारबाही गर्नुपर्ने माग पनि स्थानीयहरूले उठाएका छन्। उनीहरूले भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिन सञ्चारमाध्यमले तथ्यमा आधारित, सन्तुलित र प्रमाणित समाचार मात्र प्रकाशन गर्नुपर्नेमा जोड दिएका छन्।

 

स्थानीयहरूको सामूहिक भनाइ छ, “भ्रामक समाचार बनाएर पत्रकारिताको खिल्ली नउडाउनुहोस्। सत्य, तथ्य र प्रमाणमा आधारित समाचारमार्फत मात्र जनविश्वास कायम राख्न सकिन्छ।”

यस घटनाले पत्रकारितामा जिम्मेवारी, तथ्यपरकता र विश्वसनीयताको महत्वलाई पुनः स्मरण गराएको स्थानीयहरूको निष्कर्ष छ।

Comments (0)
Add Comment