काठमाडौं, १७ चैत
अख्तियार दुरुपयोग अनुसन्धान आयोग को टोलीले प्रहरी वृत्त मालीगाउँ मा कार्यरत प्रहरी नायव निरीक्षक दिनेश राउतलाई रु. २० हजार घुससहित नियन्त्रणमा लिएको छ।
आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाइदिने तथा मुद्दा मिलापत्र गराइदिने बहानामा सेवाग्राहीसँग घुस मागेर दुःख हैरानी दिएको भन्ने उजुरीका आधारमा कारबाही अघि बढाएको थियो। सोही क्रममा राउतले सेवाग्राहीबाट लिइसकेको रु. २० हजार नगदसहित उनलाई रंगेहात पक्राउ गरिएको हो।
प्रवक्ता सुरेश न्यौपाने का अनुसार, उनलाई काठमाडौं महानगरपालिका–५ स्थित गहनापोखरी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। पक्राउका क्रममा घुस रकमसँगै प्रयोग गरिएको मोबाइल फोनसमेत बरामद गरिएको छ।
प्रारम्भिक अनुसन्धानमा उनले आफ्नो पदको दुरुपयोग गर्दै मुद्दा प्रभावित पार्ने उद्देश्यले अवैध लाभ लिएको आशंका गरिएको छ। घटनापछि उनलाई नियन्त्रणमा राखी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ।
अख्तियारले सार्वजनिक सेवामा हुने भ्रष्टाचारविरुद्ध कडा कदम चाल्दै यस्ता गतिविधिमाथि निरन्तर निगरानी र कारबाही जारी रहने स्पष्ट पारेको छ।