मधेशसमाचार

जिल्ला सभापति राजेश राय यादवसहित १६ जना नेता–कार्यकर्तालाई कारबाहीका लागि केन्द्रमा सिफारिस

बारा , ०२ चैत

नेपालि कांग्रेस भित्र आन्तरिक विवाद चर्किँदै जाँदा बारा जिल्लामा पार्टी अनुशासन सम्बन्धी मुद्दा झनै तातिएको छ। जिल्ला सभापति राजेश राय यादवसहित १६ जना नेता–कार्यकर्तालाई कारबाहीका लागि केन्द्रमा सिफारिस गरिएपछि जिल्लाको कांग्रेस राजनीति थप तरंगित बनेको छ।
बारा निर्वाचन क्षेत्र नं. ३ को क्षेत्रीय कार्यसमितिले प्रतिनिधिसभा निर्वाचनका क्रममा पार्टीका आधिकारिक उम्मेदवार सह–महामन्त्री फरमुल्लाह मन्सुरलाई असहयोग गरेको आरोप लगाउँदै जिल्ला सभापति यादवसहित १६ जनामाथि कारबाहीको सिफारिस गरेको हो। क्षेत्रीय सचिव राजेश भण्डारीका अनुसार पार्टीका उम्मेदवारलाई हराउन योजनाबद्ध रूपमा आफ्ना नजिकका नेता–कार्यकर्तालाई परिचालन गरिएको आरोप पत्रमा उल्लेख गरिएको छ। उक्त सिफारिस पत्र क्षेत्रीय सभापति प्रभातकुमार चौरसियाको हस्ताक्षरसहित केन्द्रीय कार्यालय पठाइएको बताइएको छ।
क्षेत्रीय कार्यसमितिले पठाएको पत्रमा जिल्ला सभापति यादवले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि सञ्चालन गरेको, आफ्ना नातेदार तथा नजिकका कार्यकर्तालाई परिचालन गरी निर्वाचनमा पराजित गराउन भूमिका खेलेको आरोप लगाइएको छ। यस प्रकारको गतिविधि पार्टी अनुशासनविपरीत भएको भन्दै सिफारिस गरिएका सबैलाई तत्काल पार्टी सदस्यताबाट निलम्बन गर्न केन्द्रलाई आग्रह गरिएको छ।
कारबाही सिफारिसमा परेका नेताहरूमा जिल्ला सभापति राजेश राय यादव, प्रदेश कार्यसमिति क्षेत्र नं. २ (ख) का सभापति हरिप्रवेश यादव, प्रदेश कार्यसमिति क्षेत्र नं. ३ (ख) का उपसभापति श्रीनिवास यादव, प्रदेश कार्यसमिति क्षेत्र नं. २ (ख) का उपसचिव केदार साह, कलैया उपमहानगर कार्यसमितिका उपसभापति अम्बिका यादव, महाधिवेशन प्रतिनिधि बजरंगी साह लगायत छन्। त्यस्तै कलैया उपमहानगरपालिका वडा नं. ६ का सभापति भोला राय यादव, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. २ का सभापति रामप्रवेश यादव, जिल्ला सदस्य रबिन्द्र यादव (रोवान) र रविकरण साह कलवार, क्षेत्रीय सहसचिव नाजिर अन्सारी, नेपाल तरुण दल बाराका कार्यवाहक अध्यक्ष दिपेन्द्र पटेक, मधेश प्रदेश कार्यसमिति सदस्य मो. अतिउर रहमान (पपपु), प्रदेश महाधिवेशन प्रतिनिधि अवधेश यादव तथा क्षेत्रीय प्रतिनिधि हरि यादव (हरिन्द्रप्रसाद राउत) समेत रहेका छन्।
स्थानीय कांग्रेस वृत्तमा भने यो सिफारिसले थप राजनीतिक तरंग सिर्जना गरेको छ। केही नेताहरूले आरोपलाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गरेका छन् भने क्षेत्रीय कार्यसमितिका पदाधिकारीहरूले पार्टी अनुशासन कायम गर्न यस्तो कदम आवश्यक भएको बताएका छन्।
अब अन्तिम निर्णय भने पार्टीको केन्द्रीय नेतृत्वले गर्नेछ। केन्द्रले छानबिन गरी आवश्यक ठानेमा उनीहरूलाई स्पष्टीकरण सोध्ने, निलम्बन गर्ने वा अन्य अनुशासनात्मक कारबाही गर्न सक्ने सम्भावना रहेको बताइएको छ। यस घटनाले बारा कांग्रेसभित्रको आन्तरिक विवाद सार्वजनिक भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button