श्री अमरनाथ र वैष्णो देवीको यात्रा…………
📝संजय तिवारी
जीवन र यात्रा एक आपसमा गांसिएका कुरा हुन। यात्राले जिवनलाई थप सरल बनाउन तथा उत्साह थप्न मद्दत गर्दछ। यात्राले अनुभव, अपेक्षा, अवस्था र व्यक्तित्व तथा समय अनुसारको परिपेक्षलाई बुझ्न व्यापकता प्रदान गर्दछ। यसै यात्रालाई निरन्तर दिन गत श्रावण १० गतेदेखी हामी भारतको धार्मिक यात्रामा निस्कियौं।
गृह शहर कलैयादेखि सिमावर्ती भारतिय शहर रक्सौल हुँदै न्यु दिल्ली- जम्मु- पहलगाम- पंचतरणी- बालटाल- सोनमर्ग- श्रीनगर- कटरा- मा वैष्णो देवी हुँदै पुन: न्यु दिल्ली र त्यहांबाट रक्सौल हुँदै कलैया फर्किने तर्खरमा हामी रहेका छौ।
हाम्रो भ्रमण मुख्य रुपमा अतिनै कष्टपुर्ण मानिएको श्री अमरनाथ दर्शनको लागि थियो। यात्राको क्रममा कैयन नौलो अनुभव प्राप्त भयो। १४८०० फिट उचाईमा रहेको ‘गणेश टप’मा हवाले निस्सासिएको श्वास र त्यसपछी खराब मौशमका कारण पंचतरणी बेस क्याम्पमा बिना बिजुली टेन्टमा २ दिनसम्म लुक्नु परेको अनुभव पनि रोमान्चक थियो। लंगर (भण्डारा) को खाना, त्यो बरफ जस्तै चिसो पानी र मनभित्र बाबा बर्फानीको दर्शन गर्ने जागरले हामी पवित्र गुफामा पुगेरै छाड्यौं।
पवित्र गुफा पुग्न र त्यहांबाट तल झर्न सहयोग गर्ने ती काश्मिरी घोडेबाज (खच्चर चलाउने केटाहरु)को मिहेनत चाहीं अदभुत रह्यो। उनिहरुले सहयोग नगरे गुफा पुग्न समस्या हुने निश्चित थियो। अमरनाथ यात्रापछी बालटाल हुँदै सोनमर्गको बास र त्यहांबाट जम्मु काश्मिरको राजधानी श्रीनगरको बसाई सम्झना लायक रह्यो।
श्रीनगरको ‘लाल चौक’ जहाँ भारतको शिर उचो पार्ने गरी फहराईरहेको तिरंगा र गुलजार बजारले काश्मिर आतन्कवादबाट रामराज्यमा परिणत भइरहेकोको साक्षी बन्न पायौं। जहाँ दिनहु पत्थरबाजी हुने गर्दथ्यो त्यहांको बजार बेहिसाब थियो। पहाडी ड्राई फ्रुट्स र कश्मिरी पश्मिनाका कपडा सँसार मै प्रसिद्ध छ।
श्रीनगर मै रहेको करिब २० किलोमिटरमा फैलिएयो ‘दल झिल’मा ‘सिकारा’ बाट घुम्ने अवसर अत्यन्तै नौलो तथा भुल्न नसकिने रह्यो। ताल मै व्यापार, ताल मै बजार देखि लिएर आकर्षक होटल तथा रेस्टुरेन्टहरु देख्दा हामी बिदेशमा आए झै अनुभव गर्यौं। सांझ पख डुङामा सवारी गरिरहदा वरिपरि देखिएका झिलमिल ‘पानी बजार’ले नेपालमा रहेका फेवा, बेगनास लगायतका तालहरुमा त्यस्तै व्यवस्थापन गर्न सके पर्यटन क्षेत्रमा ठूलो फड्को मार्न सकिने जस्तो लाग्यो।
श्रीनगर पछी हाम्रो तालिका नरहेको तर महत्वपुर्ण स्थान अर्थात मा वैष्णो देविको दर्शन गर्ने अवसर प्राप्त भयो। श्रीनगरबाट कटरा पुगेर त्यहांको रेल्वे स्टेशन नजिकै रहेको श्राईन बोर्डबाट यात्रा अनुमती कार्ड बनाई राती ९ बजे हामी माता दरवारको लागि कुंच गरेका थियौं। कुल १३ किलोमिटर पैदल यात्रा गरेपछि मुख्य मन्दिर पुग्ने रैछ। त्यहां पुगेपछी थप २ किलोमिटर माथी पुगेर भैरो स्थानको दर्शन पनि गर्नुपर्ने रैछ। तर मैले माता बैष्णो देविको दर्शन गर्ने अवसर मात्रै प्राप्त गरें तर अनिल कुमार पाण्डेय लगायत अनिल पाण्डेय र बिरबहादुर साह लहेरा माता वैष्णो देबीको दर्शन गरी भैरो स्थान पुगेका थिए। आफु चाँहि राती ३ बजे त्यहां बाट पुन: तल झरेर बिहान करिब ७:०० बजे होटल फर्केको थिएं। २६ किलोमिटरको हिडाईले शरीर एकदमै थाकिसकेकोले सुत्नु बाहेक अरु कुनै बिकल्प नरहेकोले सुते।
कटराबाट दिउँसो ३ बजे बन्दे भारत ट्रेन चढेर न्यु दिल्ली पुगियो र भोलिपल्ट दिल्लिमा किनमेल गरेर दिउँसो ५:३० बजे सत्याग्रह एक्सप्रेस चढेर घर फर्किने क्रममा हामि रहेका छौं। यसरी यस वर्षको पहिलो यात्रा १२ दिनमा समाप्त गर्दै नयां अनुभवको लागि अगाडि बढ्ने छौं।
यात्राको क्रममा जम्मु काश्मिरमा सरकारले दिएको सुरक्षा भने काबिले तारिफ रहेको छ। हाम्रो यात्राको पहिलो पडाव पहलगाम भन्ने स्थानबाट थियो। त्यही पहलगाम जहाँ आतंकवादीहरुले २६ जना पर्यटकलाई गोलिहानी हत्या गरिदिएका थिए। हामी त्यहां जादा पनि घरपरिवार तथा ईष्टमित्रहरुले त्यहां नजान सुझाव दिएका थिए, तर हामी गयौं। भारतकोको आईटिपिएफ, सिआरपिएफ, बिएसएफ, ईण्डियन आर्मी, जीण्ड के पुलिस, ट्राफिक पुलिस था श्राईन बोर्डका शुरक्षाले अत्यन्तै सुरक्षित महसुस भयो।
यात्राकोमा महत्वपुर्न सहयोग गर्ने हामिले बुक गरेको गाडिका चालक अत्तिनै मिलनसार दलविर शिंह, श्रीनगरमा भेटिका उनका साथी(नाम थाहा नभएको), घोडा चालक काश्मिरी भाईहरु, होटलका कर्मचारी, ट्रेनका कर्मचारी लगायत सम्पुर्ण सहयोगीहरुलाई हार्दिक धन्यवाद।
